२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीलाई सास्ती, पटक-पटक लाइन बस्नुपर्ने बाध्यता

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीलाई सास्ती, पटक-पटक लाइन बस्नुपर्ने बाध्यता


पोखरा—पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नती भएपछि सेवा सुविधाहरु थपिएका छन् । ल्याब सेवा पूर्ण रुपमा सञ्चालनमा छ । मुटुको जटिल शल्यक्रियाबाहेक सबैजसो सेवा प्रतिष्ठानमा सुरु भएको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्री बताउँछन् ।

विशेषज्ञ सेवा थप भएपनि बिरामीको प्रत्यक्ष सरोकारका सामान्य विषयमा अस्पताल प्रशासनले उल्लेखनीय सुधार नगरेको गुनासो बिरामीहरुले गर्ने गरेका छन् । उपचारका लागि आउने बिरामीहरु सेवाका नाममा सास्ती भएको गुनासो गर्छन् । त्यसो त केही समस्या बिरामीको जबर्जस्तीले गर्दा भएका पनि हुन् ।

अस्पताल पुग्ने बिरामीहरु विभिन्न रोगका कारण शिथिल शरीर लिएर डाक्टर भेट्न दौडधूप र तछाड्–मछाड् गर्नुपर्ने अवस्था छ । अस्पताल पुग्ने बिरामी हुन् कि मेला हेर्न गएका दर्शक हुन् भन्ने सवाल बिरामीले उठाउने गरेका छन् । बिरामी दिनभर लाइनमा र दौडादौड कति गर्ने ? अस्पतालमा पुग्ने बिरामीले कुराकानीमा सोध्ने प्रश्न हो यो ।

अस्पतालमा सरकारी दरबन्दीका ३०१ र एकडेमीबाट ३५० जना डाक्टर, कर्मचारीलगायत कार्यरत छन् । सुरक्षा गार्ड, कार्यालय सहयोगी, नर्सिङ स्टाफ लगायत ३० जना एकेडेमीले थप्ने तयारी गरेको डा. खत्रीले बताए ।

सेवा लिन लाइनै लाइन

अस्पताल आउने बिरामीले बिहानदेखि दिनभर दौडधूप र लाइनमा बस्नुपर्छ । तन्दुरुस्त मान्छे नै बिरामी पार्ने गरी झन्झटिलो लाइन पार गरेर सेवा लिन बिरामी बाध्य छन् ।

बिहान टिकट काउन्टरबाट सुरु भएको लाइन ओपीडी जाँच गर्दा, प्रयोगशाला जाँच, रेडियोलोजी जाँच, जाँच शुल्क बुझाउने, रिपोर्ट देखाउने, बिमाका बिरामीले कार्ड फिर्ता लिने, औषधी लिनेसम्म गर्दा आधा दर्जन बढी पटक लाइन बस्नुपर्छ । त्यतिमात्र होइन, एक दिनमा जाँच नभ्याइएपछि भोलिपल्ट फेरि सोही प्रक्रिया अपनाउनुपर्छ । जसका कारण अस्पताल प्रशासनलले धेरै बिरामीलाई सेवा दिएको दाबी गरे पनि झन्झटका कारण दैनिक दोब्बर संख्या देखिएको ड्युटीका डाक्टर बताउँछन् ।

अहिले बिमा, ओपिडी टिकट लिन भने केही सहज भएको बिरामीहरुको भनाइ छ । टिकट लिन सजिलो भएपनि सेवा चुस्तदुरुस्त बनाउन अस्पताल प्रशासनले व्यवस्थापनमा ठोस काम नगरेको बिरामीहरुको आरोप छ ।

अस्पतालका निर्देशक डा. खत्री तहगत रुपमा सेवा दिने प्रक्रिया कार्यान्वयन हुने हो भने बिरामीको चाप घट्ने बताउँछन् । प्रतिष्ठान त रिफरल अस्पताल हुनुपर्ने उनको तर्क छ । तर, स्थानीय तह तथा जिल्ला तहका स्वास्थ्य सेवा प्रदायक प्राथमिकतामा नपरेका कारण क्षेत्रीय अस्पतालमा चाप थपिएको उनको भनाइ छ । स्थानीय तथा जिल्ला तहको सेवा प्रभावकारी नहुँदा विभिन्न जिल्लाका बिरामी पोखरा, काठमाडौंलगायत ठाउँमा उपचारका लागि जानुपर्ने बाध्यता आम नागरिकसामु छर्लंगै छ ।

ड्युटीका डाक्टर भेटिदैनन्

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहान ९ देखि ४ बजेसम्म २ सिफ्ट गरी डाक्टरलाई ड्युटीमा खटाइएको अस्पतालका निर्देशक भरतबहादुर खत्री बताउँछन् । ड्युटी समयमा ओपीडी जाँच कक्षमा ६ देखि ८ जना डाक्टर हुनुपर्ने भएपनि सो समयमा थोरै डाक्टरमात्रै भेटिन्छन् । बिरामी लाइनमा तड्पिइरहँदा ड्युटीकै डाक्टर अस्पतालबाहिर नै जानेदेखि अस्पतालको पेरिफेरिमै गफिएर समय बिताउने गरेको अस्पतालका कर्मचारीले नाम नबताउने सर्तमा बताए ।

उनले भने, ‘वार्ड ड्युटी, आकस्मिक काम जस्ता बहानामामा डाक्टरहरु ड्युटी समयमा बाहिर रहने गर्छन्, कोही त क्लिनिकमा बिरामी नै जाँच्छन् ।’

अस्पतालमा इमान्दार डाक्टर नै छैनन् भन्ने चाहिँ होइन् । अस्पताल प्रशासनले निगरानी र निर्देशन नगरिदिँदा बिरामीको चाप सिमित डाक्टरहरुमा पर्ने गरेको छ । ओपिडी जाँच कक्षमा बिरामी पालो व्यवस्थापनमा खटिएका कर्मचारी ‘यो कोठामा डाक्टर हुनुहुन्न, अहिले आउनुहुन्छ, अर्काे कोठामा जानुहोस्,’ भन्दै पालो व्यवस्थापन गरिरहेका हुन्छन् । यसबाट थाहा हुन्छ, त्यहाँ खटाइएका डाक्टर आएनन् । ती डाक्टर को हुन् र ड्युटी समय कति हो भन्ने सर्वसाधारणलाई मात्र होइन, पढेलेखेका र प्रश्न सोध्न सक्नेहरुलाई पनि थाहा हुँदैन ।

ओपिडी जाँच कक्षमा बिरामीले ड्युटीअनुसारका डाक्टर भेट्दैनन् । ओपिडी जाँच कक्षमा २ सिफ्ट गरी डाक्टरलाई पालो तोकिएको भएपनि पालोअनुसार डाक्टर नभएको बुझ्न लामो समय प्रतीक्षा गर्नु पर्दैन । कन्सल्टेन्ट तथा लेक्चरर डाक्टर प्रायःजसो नेमप्लेटमा मात्रै भेटिन्छन् ।

बिरामीबाट ओपिडीमा डाक्टर कम मात्रै हुने गरेको गुनासो सुनेपछि ओपिडी सेवामा भएको सास्तीबारे मेडिकल विभाग प्रमुख डा. सूर्य हमाललाई फोनबाट जिज्ञासा राख्दा उनले भने, ‘यसमा म परिनँ माथि डिरेक्टर सरसँग कुरा गर्नू ।’ उनी आफू विभागीय प्रमुख भएपनि बोल्न नमिल्ने भन्दै पन्छिए ।

अस्पताल प्रशासनले सिसिटिभी निगरानी गरिरहेको हुन्छ । तर, बिरामीको सहजताका लागि तत्काल कुनै पहल नहुने गरेको प्रशासनकै कर्मचारी आरोप लगाउँछन् । अस्पतालका निर्देशक डा. खत्रीकाअनुसार बिरामीलाई कम सास्ती हुने गरी सेवा व्यवस्थापनको तयारी भइरहेको छ । उनकाअनुसार प्रयोगशालामा दुई सिफ्ट गर्ने तयारी छ भने फार्मेसीमा औषधिका लागि लाइन हटाएर टोकन प्रणाली लागु गरिएको छ । उनकाअनुसार आईसीयु र एनआईसीयुको क्षमता विस्तार गरिएको छ भने अस्पतालको रेट्रोफिटिङ सकिएलगतै धेरै समस्याहरु समाधान हुनेछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ