२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्छ : स्वास्थ्य मन्त्री 

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्छ : स्वास्थ्य मन्त्री 

स्वास्थ्य बिमा गराएको आधा बिमितले मात्र लिए सेवा 


विराटनगर  – कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाएर अगाडी लैजानुपर्नेमा जोड दिएकी छिन् । स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले विराटनगरमा शनिबार आयोजना गरेको  सातौँ स्वास्थ्य बिमा वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री लिम्बुले यस्तो बताएकी हुन् ।

उनले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बिमा कार्यक्रम आएकाले यसलाई प्रभावकारी बनाएर अगाडी बढ्नुपर्ने बताइन् । त्यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारको पनि साथ सहयोग आवश्यक रहेको बताइन् । स्वास्थ्य बिमा कार्यक्रमबाट पाउने स्वास्थ्य उपचार पनि गुणस्तरीय बनाएर लैजानुपर्ने बताइन् । ‘कम मूल्यमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा स्वास्थ्य बिमा कार्यक्रमबाट प्रदान हुनुपर्दछ,’ उनले भनिन्, ‘यो सेवा जनताको घरदैलामा पु¥याउन जरुरी छ ।’

कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले सन् २०३० सम्ममा स्वास्थ्य बिमा कार्यक्रम सत प्रतिशतसम्म पु¥याउने लक्ष्यको साथ काम भइरहेको बताए । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशमा सन्तोषजनक स्वास्थ्य बिमा कार्यक्रम भएको बताए ।

नागरिकको उपचारमा स्वास्थ्य बिमा कार्यक्रम सहज तरिकाले स्थानीय स्तरसम्म पु¥याउनुपर्ने उनले बताए । ‘स्वास्थ्य बिमा बाट आएको औषधी कम गुणस्तरको हुने जनगुनासो आउने गरेको छ । यसलाई हामीले चुनौतीको रूपमा हेरेका छौँ,’ उनले भने, ‘अहिले सेवा प्रदायक संस्थालाई दिइने भुक्तानी दर पनि बढेकाले सेवा प्रभाह पनि गुणस्तरीय दिनपर्दछ ।’

कोशी प्रदेशमा ४० प्रतिशतले गरे स्वास्थ्य बिमा

विराटनगर – कोशी प्रदेशमा स्वास्थ्य बिमा गराएको आधा बिमितले मात्र स्वास्थ्य सेवा लिएको पाइएको छ ।

४९ लाख ६१ हजार ४ सय १२ जनसंख्या रहेको कोशी प्रदेशमा  ४० दशमलव ५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३ सय ३३ जनाले स्वास्थ्य बिमा गराएको मध्ये आधा भन्दा कम बिमितले मात्र स्वास्थ्य सेवा लिएको पाइएको हो ।

सेवा लिने ९ लाख ७० हजार ९३३ जना बिमित रहेको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशले जनाएको छ ।

प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बिमा झापा भएको छ भने कम सोलुखुम्बुमा भएको स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए ।  झापामा बसैभन्दा बढी ६३।५ प्रतिशत अर्थात् ६ लाख ३३ हजार ६५८ जनाले  स्वास्थ्य बिमा गराएका छन् । यस्तै भोजपुरमा २३।४ प्रतिशत अर्थात्  ३६ हजार ८ सय ८७, धनकुटाले ३४ हजार २ सय, इलाममा १ लाख ३८ हजार ५ सय ६, खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३ सय ९७ जनाले स्वास्थ्य बिमा गराएका छन् । यतै पाँचथरमा २५ हजार ७२५, सङ्खुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लजुेङ्गमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १ सय २ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्डको अभिलेखमा देखिन्छ । प्रदेशमा स्वास्थ्य बिमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ । बिमा गरिएको मध्ये अति गरिब बिमितको संख्या २४ हजार २ सय ६०, ज्येष्ठ नागरिक बिमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभि संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङ्गता भएका ४२ हजार ९१७, कुष्ठरोग संक्रमित १ हजार ४२ जना रहेको छन् । बिमा गराएका मध्ये सेवा लिने बिमित ४८ प्रतिशत अर्थात् ७ लाख ७० हजार ९३३ जना रहेका छन् ।
बिमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको छ ।

प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी हस्पिटल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट स्वास्थ्य बिमाबाट बिरामीले सेवा लिँदै आएका छन् । यी स्वास्थ्य संस्थाहरूबाट सेवा दिए बापत तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४ सय ३५ रुपैयाँ भुक्तानी लिएको अभिलेखमा देखिन्छ ।

२०७२ चैत २५ गतेबाट कैलाली जिल्लाबाट औपचारिक रूपमा नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । त्यसयता देशभरीमा कुल बिमित परिवार संख्या १९ लाख ९४ हजार ३३८ रहेका छन् । कुल बिमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ रहेको स्वास्थ्य बिमा बोर्डको अभिलेखमा देखिन्छ । कुल बिमितमध्ये सेवा लिनेको संख्या ४५ प्रतिशत अर्थात् २८ लाख ९३ हजार ५७२ जना रहेका छन् । नवीकरण गर्ने बिमित संख्या देशभरिमा ३८ लाख ७१ हजार ८५० रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ