२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि समझदारी, एक वर्षभित्रमा सेवा संचालनको तयारी

कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि समझदारी, एक वर्षभित्रमा सेवा संचालनको तयारी


विराटनगर -पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल विराटनगरस्थित कोशीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नको लागि समझदारी भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी प्रदेश अन्तर्गत कोशी अस्पतालबिच बुधबार समझदारी भएको हो ।

समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट मेसु डा. रवि राज सिंहबिच हस्ताक्षर समेत भएको छ । कोशी अस्पतालका मेसु डा सिंहले एक वर्ष भित्र कोशी अस्पतालबाट मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र यस प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरूमा डाइलाइसिस सेवा विस्तार गर्ने जस्ता समझदारी भएको जानकारी दिए ।

पछिल्लो समय स्वास्थ्य सेवामा अब्बल बन्दै गएको पूर्वी नेपालको एक मात्र कोशी अस्पतालले थप सफलता प्राप्त गरेको छ । उक्त सम्झौतापछि कोशी प्रदेशमा पहिलो पटक प्रदेश अस्पतालले अङ्ग प्रत्यारोपण सेवा विराटनगरबाटै  दिने भएको हो । यो सँगै मिर्गौला रोगीले उपचार गर्न जिल्ला बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको छ ।

उक्त समझदारी अन्तरगत कोशी अस्पतालमा कार्यक्रमहरूको लागि चाहिने जनशक्ति र उनीहरूलाई तालिम, अध्यापन जस्ता कुराहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले व्यवस्थापन गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने सहमति समेत भएको छ ।

अहिले कोशीमा दैनिक १५ देखि १७ जनासम्मको नियमित डायलाइसिस हुँदै आएको छ । अस्पतालमा ८ शय्या रहेको छ ।
कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको बताइएको छ ।  मिर्गौला फेल भएकाहरू प्रत्यारोपण नहुँदा सम्म डायलाइसिस सेवा समेत पाउन  नसक्ने वर्तमान अवस्थामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण सेवाको थप विस्तार गर्दै  सात वटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने योजना बनाएको हो ।

नेपालको करिब ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको बताइएको छ । जसमा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मिर्गौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा बर्षेनी करिब ३ हजार  जनाको मिर्गौला फेल र एक हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांकले देखाएको छ ।

कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको र मिर्गौला फेल भएकाहरू प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउन नसक्ने वर्तमान अवस्थामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण सेवाको थप विस्तार र सात वटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने योजना बनाएको छ ।

 


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ