२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको ‘प्याथोलोजी मार्गदर्शन’ पुस्तक सार्वजनिक

वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको ‘प्याथोलोजी मार्गदर्शन’ पुस्तक सार्वजनिक


काठमाडौं—वरिष्ठ प्याथोलोजिष्ट तथा सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतमको ‘प्याथोलोजी मार्गदर्शन’ पुस्तक सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकामाझ डा. गौतमका बुवा मुरारीप्रसाद गौतम र प्याथोलोजिष्ट डा. देविश प्याकुरेलका बुवा विनोदप्रसाद शर्माले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणमा गौतम र शर्मासँगै लेखक डा. गौतम र पुस्तकका टेक्नीकल इडिटर डा. देविश प्याकुरेल पनि जोडिएका थिए ।

पुस्तक सार्वजनिकपछि बोल्दैं अतिथी मुरारीप्रसाद गौतमले पुस्तकमा स्वास्थ्य र प्रयोगशालासँग जोडिएका महत्वपूर्ण विषयहरु सरल शैलीमा प्रस्तुत गरिएको बताए । ‘सबै उमेर समूह र विशेषगरी ४० वर्षपछिका मानिसहरुमा आउने स्वास्थ्य समस्याहरुको प्रयोगशाला परीक्षणबारेमा सरल भाषामा सलल बग्ने गरी लेख्न सक्नु पुस्तकको मुख्य विशेषता हो,’ उनले भने, ‘अहिले गाह्रो शब्दहरु राखेपछि विद्धान भइन्छ भन्ने सोच छ । तर, सरल शैलीमा लेख्न सक्नु लेखकको खास खुबी हो । यो पुस्तक सरल शैलीमा तयार पारिएको छ ।’ उनले पुस्तक बिरामीहरुका लागि पनि उपयोगी रहेको उल्लेख गरे ।

लेखक डा. गौतमले प्रयोगशालामा काम गर्ने क्रममा देखिने समस्या, बिरामीहरुले बारम्बार सोधिरहने प्रश्न, प्रयोगशाला रिपोर्टमा रहेको कन्फ्युनजस्ता कुराहरुलाई लिएर पुस्तक लेखिएको बताए । ‘१५ वर्षदेखि म प्याथोलोजी विषयसँग नजिक छु । यो जति पढ्यो त्यति रमाइलो थप जान्न मन लाग्ने विषय छ । प्याथोलोजी मेरो हृद्धयसँग एकदमै नजिक छ,’ डा. गौतमले भने, ‘प्रयोगशालामा काम गर्ने क्रममा देखिने समस्या, बिरामीहरुले बाम्बार सोधिरहने प्रश्न र रिपोर्टमा देखिने कन्फ्युजनजस्ता विषयलाई सम्बोधन गर्ने क्रममा यो पुस्तक तयार भएको हो ।’

डा. गौतमले प्याथोलोजी विषयलाई अहिले कर्नरमा पारिएको बताउँदैं यसका बारेमा धेरैलाई जानकारी नरहेको बताए । ‘७०–८० प्रतिशत रोगको डाइग्नोसिस, ट्रिटमेन्ट र मोनिटरिङ प्याथोलोजीका आधारमा गरिने यो विषयको महत्व अझ बढी छ,’ उनले भने, ‘प्याथोलोजीको त्यही महत्वबारेमा आमजनमानसमा सचेतना जगाउनका लागि पुस्तक उपयोगी हुने विश्वास लिएको छु ।’

पुस्तक टेक्नीकल इडिटर डा. प्याकुरेलले पुस्तकमा सामान्य विषयदेखि गहन विषयसम्म समेटिएको बताए । उनले पुस्तकमा प्रयोगशाला परीक्षणअघि गर्नुपर्ने फास्टिङ, रगत झिक्ने सही तरिका, नसा नदेखिँदा प्रयोग गरिने भेन भ्युवर, घरमै गर्भावस्थाको जाँचदेखि युरिक एसिड, प्याप स्मियर जाँचसम्मका विषय किताबमा समेटिएको जानकारी दिए । ‘पुस्तकका हरेक शीर्षकहरु उपयोगी छन्,’ उनले भने, ‘प्राविधिक विषय भएपनि आम मानिसले समेत सहज तरिकाले बुझ्न सक्छ्न ।’ उनले पुस्तक चिकित्सक, प्रयोगशालामा काम गर्ने प्राविधिक जनशक्ति, पारामेडिक्स र नर्सहरुका लागि पनि काम लाग्ने बताए ।

प्रयोगशालाका सम्बन्धमा निरन्तर आइरहने समस्याहरुलाई सरल शैलीमा लेखिएको पुस्तकमा १०० शीर्षकहरु छन् । ४११ पृष्ठ रहेको उक्त पुस्तकमा प्रयोगशालामा रगत तान्ने, रगत परीक्षण अघि अपनाउनुपर्ने सावधानी, गुणस्तरीय प्रयोगशाला रिपोर्ट तयार पार्न आवश्यक कुरा, विभिन्न जाँचहरु गर्नुपर्ने कारण, जाँचहरु गर्नका लागि आवश्यक तयारीलगायतका प्रयोगशाला सम्बन्धि विविध विषयहरु समेटिएका छन् । पुस्तक आम मानिसहरुसँगै चिकित्सक, नर्सिङ स्टाफ, पारामेडिक्सलगायत चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि उपयोगी छ । यो डा. गौतमको पहिलो पुस्तक हो ।

पुस्तक तत्काल जावालाखेलस्थित सम्यक डाइग्नोष्टिक प्रा.लि.मा उपलब्ध हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ