२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपतिका चिकित्सक भन्छन्, ‘क्यान्सर र टिवीको हल्लाले राष्ट्रपति पौडेल दुःखी हुनुहुन्छ’

राष्ट्रपतिका चिकित्सक भन्छन्, ‘क्यान्सर र टिवीको हल्लाले राष्ट्रपति पौडेल दुःखी हुनुहुन्छ’

डिस्चार्जको विषयमा छलफल गर्न बुधबार चिकित्सकहरुको बैठक बस्दै


काठमाडौं–नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको उनका निजी चिकित्सक डा. निरज बमले बताएका छन् । राष्ट्रपति पौडेलसँगै एम्समा रहेका डा. बमले हेल्थआवाजसँग टेलिफोन वार्तामा सो कुरा बताएका हुन् ।

डा बमका अनुसार पौडेलको फोक्सोको संक्रमण (पानी जमेको) विषयलाई मुख्य आधार मानेर नै उपचार भइरहेको छ । साथै त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदाका बखत चलाइएको औषधिलाई नै निरन्तरता दिइएको छ ।

‘संक्रमणका कारण जमेको पानीको मात्रा कम हुँदै गएको छ,’ डा. बमले टेलिफोनमा भने, ‘रगत तथा एक्सरे परीक्षणहरु नियमित भइरहेको छ । तर, औषधि भने नेपालमा चलाइएका नै निरन्तरता दिइरहेको छ ।’

राष्ट्रपति पौडेललाई एम्सका छाती रोग विशेषज्ञ प्रा. डा. अनन्तमोहन, क्रिटिकल केयरका प्रा.डा. पुनित मिश्र, न्युरोलोजिष्ट प्रा.डा. पद्यामालगायतको टिमले हेरिरहेको छ ।

डा. बमकाअनुसार उपचारमा संलग्न चिकित्सकहरुको बुधबारको बैठकले राष्ट्रपतिको एम्स बसाइको टुंगो लगाउनेछ । ‘भोलि चिकित्सकहरुको बैठक बस्दैछ सायद त्यसले महामहिमको डिस्चार्जको केही निर्णय गर्छ होला,’ उनले हेल्थआवाजसँग भने, ‘स्वास्थ्य अवस्था सुधार भएका कारण नै आज क्याविनमा सारिएको हो ।’

क्यान्सर र टिवीको हल्लाले राष्ट्रपति दुःखी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने निर्णयसँगै फोक्सोको क्यान्सर वा क्षयरोग (टिवी)को आशंका गरिएको समाचार केही सञ्चार माध्यममा आएका थिए । ती समाचारका कारण राष्ट्रपति र परिवार दुःखी भएको डा. बमले बताए ।

‘यहाँ पत्रिका त पाइदैन् । तर, अनलाइनहरुमा टिवी, क्यान्सर भएको भन्दै आएका समाचारले महामहिम र परिवार बेचैन हुनुहुन्छ,’ उनले भने, ‘चिकित्सकहरु त्यो विषयतिर प्रवेश नै गर्नुभएकोे छैन । त्यस्तो आधारहीन समाचार नलेखिदिए हुन्थ्यो ।’

पेट र छातीमा स्वास्थ्य समस्या देखिएपछि ६ बैशाखमा राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत थप उपचारका लागि नयाँदिल्ली लगिएको थियो । त्यसअघि गत चैतमा पनि राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यतिबेला त्रिवि शिक्षण अस्पतालमा केही दिन बसेर उपचार गरेपछि उनी निवास फर्केका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ