२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपन्न नागरिकको औषधि उपचारमा सरकारको २० महिनामा २ अर्ब २४ करोड खर्च

विपन्न नागरिकको औषधि उपचारमा सरकारको २० महिनामा २ अर्ब २४ करोड खर्च


काठमाडौं—सरकारले विपन्न नागरिकको औषधि उपचारमा पछिल्ला २० महिनामा २ अर्ब २४ करोड बढी खर्च गरेको पाइएको छ । ०७८ साउनदेखि ०७९ चैतसम्म सरकारले ३७ हजार १४३ जना बिरामीका लागि २ अर्ब २४ करोड ६३ लाख ७५ हजार रुपैयाँ खर्च गरेको हो ।

महालेखापरीक्षकको ६० औं प्रतिवेदनअनुसार सरकारले सबैभन्दा बढी मिर्गौला रोगका बिरामीका लागि १ अर्ब १४ करोड २१ लख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकम १४ हजार ८०६ जना मिर्गौलाका बिरामीलाई उपलब्ध गराइएको छ ।

यस्तै, क्यान्सर रोगका १५ हजार १७९ बिरामीका लागि सरकारले विपन्न नागरिक औषधि उपचार कोषमार्फत ६१ करोड ३६ लाख ९९ हजार रुपैयाँ बाँडेको छ । मुटु रोगका ४ हजार ६४९ बिरामीका लागि ४० करोड ५७ लाख १२ हजार रुपैयाँ, हेड इन्जुरी भएका ४०४ बिरामीलाई २ करोड ७३ लाख ६२ हजार रुपैयाँ, स्पाइनल इन्जुरीका ८७९ बिरामीका लागि ४ करोड ७९ लाख १६ हजार रुपैयाँ उपचार खर्च सरकारले दिएको छ ।

पार्किन्सन्सका ४९ जना बिरामीलाई ५ लाख ५४ हजार रुपैयाँ, अल्जाइमर्सका ५ जना बिरामीलाई १ लाख ७४ हजार रुपैयाँ र सिकलसेल एनिमियाका १ हजार १७२ जनालाई ८८ लाख ४३ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको छ ।

विपन्न नागरिकलाई सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५ अनुसार उपचार खर्च उपलब्ध गराउँदैं आएको छ । कार्यविधीअनुसार विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गराउँदा कोषबाट रकम उपलब्ध गराउने व्यवस्था छ ।

जसमा मिर्गौला प्रत्यारोपण गराउँदा ४ लाख रुपैयाँसम्म र अन्य रोगका लागि १ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग दिन सक्ने व्यवस्था छ । सरकारले सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यलयको सिफारिसमा सूचीकृत अस्पतालबाट यो औषधि उपचार सेवा प्रदान गर्दै आएको छ ।

स्रोतः महालेखा परीक्षकको साठीऔं वार्षिक प्रतिवेदन, २०७९

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ