२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यान अस्पतालमा अक्सिजन प्लान्ट थन्कियो, उत्पादन भन्दा खर्च धेरै

सल्यान अस्पतालमा अक्सिजन प्लान्ट थन्कियो, उत्पादन भन्दा खर्च धेरै


सल्यान – जिल्ला अस्पताल सल्यानमा १० महिना देखि अक्सिजन प्लान्ट थन्किएको छ । ०७९ असारमा अक्सिजन प्लान्टको उद्घाटन भएको थियो । अघिल्लो पटक अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्टेटर जडान गरेको सार्वजनिक भएपछि कन्सन्टेटर फिर्ता गरेर अक्सिजन प्लान्ट जडान गरिएको थियो । कोरोनाले आक्रान्त बनाएको बेला फिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट जडान गरिएको हो ।

संघीय सरकारको ७१ लाख अनुदानमा ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्ट जडान गरेपछि सिलिन्डर बोकेर दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको महसुस गरिए पनि त्यो सफल हुन सकेन ।

तर जडान गरेको झण्डै १० महिना हुँदा पनि प्लान्टले नियमित अक्सिजन उत्पादन गर्न सकेको छैन । जेनेरेटरबाट महिनामा एक÷दुई पटक सञ्चालन गरिए पनि प्लान्ट सञ्चालनको लागि बिद्युतको भोल्टेज नपुगेको भन्दै अक्सिजन प्लान्ट त्यसै थन्किएको छ । प्लान्ट नियमित सञ्चालन नहुँदा जिल्ला अस्पतालकै सिलिण्डर रिफिलका लागि नेपालगन्ज पठाउने गरेको पाइएको छ ।

सिद्धकुमाख गाउँपालिका–३ डाँडाकटेरीका बल बहादुर बुढाथोकी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको बारेमा मिडिया मार्फत थाहा पाएपछि सहज हुने महसुस गरेका थिए । तर अस्पतालमा आउँदा नियमित सञ्चालन नभएको देख्न पाएनन् । ‘अक्सिजन प्लान्ट जोडेको त मिडियाबाट थाहा पाएको थिए, अस्पताल आउँदा त सञ्चालनमा रहेन छ’ उनले भने ‘जडान गरेर सञ्चालन नहुनु लापरबाही हो, तत्काल यसको सञ्चालन गरिनुपर्छ ।’

त्रिबेणी गाउँपालिका–६ लुहामका कमल वली कोरोनाको समयमा जिल्लामा नै अक्सिजन प्लान्ट नहुँदा धेरैले ज्यान गुमाउनु परेको स्मरण गर्दछन् । अहिले फेरी कोरोना बढ्दै गएकाले यसको नियमित सञ्चालन हुनुपर्ने उनको भनाइ छ । ‘कोरोनाको बेला अक्सिजनको हाहाकार थियो, जिल्लामा नै प्लान्ट जडान गरेका छौँ, यसको नियमित सञ्चालन हुनुपर्छ’ उनले भन ‘अस्पतालमा प्लान्ट छ, सिलिण्डर रिफिल गर्न नेपालगन्ज जानु दुर्भाग्य हो ।’

जिल्ला अस्पताल १५ शय्याको भए पनि बिरामीको चापका कारण अहिले ३७ बेडमा सञ्चालन भैरहेको छ । अस्पतालमा अहिले दैनिक १ सय ५० बढी बिरामी उपचारका लागि आउँछन् । स्वास्थ्य सेवा कार्यालयका अनुसार अक्सिजन उत्पादनको खर्च धान्न नसकेपछि प्लान्ट सञ्चालन गर्न छोडेर सिलिण्डर रिफिलका लागि नेपालगन्ज पठाउन थालिएको हो ।

कार्यालयका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले बिद्युतको भोल्टेज कम हुँदा जेनेरेटरबाट सिलिण्डर रिफिल गर्नुभन्दा नेपालगन्ज लिनु सस्तो पर्ने बताउँछन् । ‘प्लान्ट सुचारु अवस्थामा छ, प्लान्ट सञ्चालनका लागि २२० भोल्टेज आवश्यक पर्छ, तर यहाँ २०० भोल्टेज नै आउँदैन, भोल्टेज नहुँदा प्लान्ट चल्दैन’ उनले भने । उनले जेनेरेटरबाट प्लान्ट सञ्चालन गर्दा खर्च धान्नै नसकिने बताए ।

‘एउटा सिलिण्डर रिफिल हुन जेनेरेटरले ८ लिटर डिजेल खान्छ, त्यो जोड्दा एउटा सिलिण्डर रिफिल गर्न १४/१५ सय लाग्छ, नेपालगन्ज पठायो भने ११/१२ सयले रिफिल भएर आइपुग्छ’ उनले भने ‘विभिन्न उपाय अपनाए पनि भोल्टेज बढाउन सकिएन ।’ अस्पतालमा अहिले १ सय ६२ वटा सिलिण्डर रहेका छन् भने झण्डै एक सय सिलिण्डर खाली भएपछि एकै पटक लिएर रिफिल गरेर ल्याउने गरिएको छ ।

अस्पतालका डा. जितेन्द्र भण्डारीका अनुसार दम, निमोनिया, मुटु तथा फोक्सो सम्बन्धी समस्या भएका बिरामीलाई अक्सिजन बढी मात्रामा चाहिन्छ । तर अहिले कोरोनाको दर बढ्दै गएकाले अक्सिजनको माग पनि बढ्न सक्ने उनको भनाई छ । ‘पुराना रोगहरू दम, दिर्घरोगी, मुटु रोगी, निमोनिया भएका बिरामीका लागि अक्सिजन चाहिन्छ’ उनले भने ‘पहिलेको जसरी कोरोना बढ्यो भने, दिर्घरोगी, पहिलेदेखि अक्सिजन लिइरहेको बिरामीको लागि अक्सिजनको माग थप बढ्न सक्छ ।’

बिद्युतको भोल्टेज कम हुँदा प्लान्ट सञ्चालनमा समस्या आएको बारेमा नेपाल बिद्युत्त प्राधिकरण सल्यान वितरण केन्द्र जानकार छ । तर जिल्ला अस्पतालमा जाने बिद्युतको भोल्टेज बढाउनको लागि आफुले केही गर्न नसक्ने कार्यालयको भनाई छ । वितरण केन्द्र प्रमुख अशोक लोहनीले अस्पतालले ठुलो ट्रान्सफर्मर राखेमा प्लान्ट सञ्चालन गर्न सक्ने सम्भावना रहेको बताए ।

‘हामीले पनि प्लान्टको अवस्थाका बारेमा अस्पतालमा नै गएर हेरेका छौँ, तर हामीले भोल्टेज बढाउने, घटाउने बनाउन मिल्दैन’ उनले भने ‘प्लान्टको लागि कति भोल्टेज चाहिने हो, त्यो अनुसार ठुलो ट्रान्सफर्मर राखेमा सञ्चालन हुनसक्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ