२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजामती अस्पताल दुई देशबीचको घनिष्ट सम्बन्धको प्रतीक : प्रधानमन्त्री

निजामती अस्पताल दुई देशबीचको घनिष्ट सम्बन्धको प्रतीक : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती अस्पताल दुई देशबीचको दशकौंदेखिको घनिष्ट सम्बन्धको प्रतीक भएको बताएका छन् । शुक्रबार चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निजामती अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य पूर्वाधारमा चीनको सहयोगको प्रशंशा गरे ।

‘निजामती अस्पताल दुई देशबीचको दशकौंदेखिको घनिष्ट सम्बन्धको प्रतीकका रूपमा पनि उभिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य पूर्वाधार सिर्जना एवं विस्तार गर्न र स्वास्थ्य संस्थामा आवश्यक उपकरण र चिकित्सा सहयोगका लागि चीन सरकारले उपलब्ध गराएको चीनको सहयोग सह्रानीय छ ।’

विस्तारित र स्तरोन्नति पूर्वाधार र सुविधाले अस्पतालले राम्रो उपचार तथा सेवाको खोजीमा रहेका बिरामीलाई सहज सेवा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त दाहालले व्यक्त गरे । ‘म यस अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले थपे, “हामीलाई प्राप्त सहयोग विकास पूर्वाधार निर्माण गर्न सम्पर्क सञ्जालको विस्तार तथा नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन धेरै सहयोगी रहँदै आएको छ ।’

भरतपुरमा क्यान्सर अस्पताल निर्माणमा पनि चीनले सहयोग उपलब्ध गराएकामा चीन सरकारलाई धन्यवाद दिँदै दाहालले यस क्षेत्रमा चीन सरकारबाट निरन्तर प्राप्त भएको साथप्रति आभार प्रकट गरे । चीनका विभिन्न विश्वविद्यालयमा नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीले अध्ययन गरिरहेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले त्यहाँबाट फर्किएकाले यहाँ उत्कृष्ट सेवा गरिरहेकोमा प्रसन्नता व्यक्त गरे ।

कोरोनाकालमा कोभिड खोप, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नजिकको छिमेकी र मित्रराष्ट्र चीनको यो उदारता र वास्तविक ऐक्यबद्धतालाई हामी सधैँ स्मरण गरिरहन्छौँ ।’ चीन र अन्य विकास साझेदारको सहयोगका कारण हामी महामारीका कठिनाइ पार गर्न सक्षम भएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ