२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजलनका बिरामीलाई उपचार पाउनै सास्ती

जलनका बिरामीलाई उपचार पाउनै सास्ती


नेपालगन्ज—२७ बैशाख दिउँसो दैलेखको सामुदायिक वनमा आगलागी हुँदा ८ जना गम्भीर घाइते भए । दैलेखमा घाइतेहरुको उपचार सम्भव नभएपछि उनीहरुलाई हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पुर्‍याइयो । कोहलपुरस्थित शिक्षणमा उपचार सम्भव नभएपछि बिरामीलाई नेपालगन्जस्थित भेरी अस्पताल र मेडिकल कलेजको शिक्षण अस्पतालमा लगियो ।

आगलागीमा परेर घाइते भएका बिरामीको उपचारका लागि घाइतेका आफन्तहरुले अनेकौ सास्ती खेप्नु परेको घाइतेको उपचारमा संलग्न दैलेखका खगेन्द्र शाहीले बताए ।

ती दुवै अस्पतालमा आगलागीमा परेका बिरामीको उपचारका लागि छुट्टै वार्ड नभएका कारण जनरल वार्ड र आईसीयुमा राखेर उपचार सुरु गरिएको छ । उपचारकै क्रममा भेरी अस्पतालको आईसीयुमा भर्ना भएका भैरव विकको मृत्यु भयो । ४ जनालाई थप उपचारका लागि बिहिबार बिहान नेपालगन्जबाट हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

३ जनाको भेरी र मेडिकल कलेजमा उपचार भइरहेको छ । नेपालगन्जमा जलेका बिरामीको उपचार गर्ने छुट्टै अस्पताल नभएका कारणका जनरल अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट सर्जन डा. रुपानन्द अधिकारीले बताए । नेपालगन्जमा मात्रै नभएर काठमाडौंबाहेक देश बाहिरका कुनै पनि स्थानमा जलनका बिरामीहरुको उपचारका लागि सुविधासम्पन्न अस्पताल छैनन् । उपचारका लागि सुविधासम्पन्न अस्पताल नहुँदा धेरै बिरामीहरुको उपचार नै नपाएर मृत्यु हुने गरेको छ ।

नेपालमा एउटा मात्रै जलनका सिकिस्त बिरामीहरुको काठमाडौंको कीर्तिपुर अस्पतालमा मात्रै उपचार हुन्छ । कीर्तिपुर बर्न अस्पताल पनि सरकारी वा निजी क्षेत्रबाट नभई गैरसरकारी संस्थाबाट संचालित अस्पताल हो । जलनमा परेका बिरामीको उपचारका लागि अस्पताल नहुँदा गरिब तथा विपन्न नागरिकहरु भने उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा. अधिकारीले बताए । जलनका बिरामीको प्रतिरोध क्षमता कम हुने र तुरुन्त अंगहरूले काम गर्न नसक्ने अवस्था सिर्जना भएर मृत्यु हुने जोखिम धेरै हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६५ देखि ७५ हजार मानिस जलनमा पर्ने गरेका छन् । तीमध्ये आगो, तातो तेल, विद्युत् करेन्ट, एसिड, तातोपानी, तातो दूधका कारण जलन भई घाइते हुने गरेका छन् । अस्पतालमा सबैभन्दा बढी आगोले पोलेर आउने गर्दछन् । ६० प्रतिशत आगोले पोलेर, तातो झोलले पोलेर २२ प्रतिशत, विद्युतीय जलन १३ प्रतिशत र बाँकी अन्य जलनका बिरामी आउने गरेका छन् ।

नेपालको एक मात्र जलन उपचारका रूपमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना भएका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको उपचार त्यहा हुन नसकी २०७९ फागुन ३ गते भारतको मुम्बई लगिएको थियो । तर, सरकारले जलनको सुविधासम्पन्न अस्पतालका लागि आवश्यक पूर्वाधार, उपकरणमा अझै लगानी बढाएको छैन ।

आगलागीबाट घाइते भएका बिरामीलाई जति छिटो अस्पताल पुर्‍याउन सक्यो त्यति जोखिम कम हुन्छ । बाहिरी भाग जलेको स्पष्ट देखिएपनि भित्रसम्म कति जलेको छ भन्ने एकिन नहुँदासम्म बिरामीको अवस्था भन्न सकिँदैन् । यसबाहेक भित्री अंग जलनबाट कति क्षति भएको छ भन्ने एकिन गर्ने प्रविधि नेपालमा नभएको चिकित्सकहरु बताउँछन् ।

आगलागीको जलनबाट रगत सञ्चार हुने नसा र शरीरका साना अंगमा असर बढ्दै जाँदा विस्तारै अंगले काम गर्न छाड्दै जाँदा मानिसको मृत्यु हुने गर्दछ । कीर्तिपुर अस्पतालमा वार्षिक करिब सात सय जना जलनका बिरामीहरुको उपचार हुने गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ