२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ संघीय अस्पतालको मात्रै स्थलगत अनुगमन गरेर प्रतिवेदन बुझाउँदैं अनुगमन समिति

२ संघीय अस्पतालको मात्रै स्थलगत अनुगमन गरेर प्रतिवेदन बुझाउँदैं अनुगमन समिति

वीर र भरतपुरको अडिट रिपोर्टलाई आधार मानेर प्रतिवेदनमा समेटियो


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको तीन तहका अस्पतालहरुको उपचारात्मक सेवा तथा साधन स्रोतको अवस्था अनुगमन गर्नका लागि अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा समिति गठन गरेका थिए । समितिलाई एक हप्ताको समायावधि दिएर प्रतिवेदन पेश गर्न भनिएको थियो ।

सो समितिको एक हप्ताको अवधिमा कान्ति बाल अस्पताल र परोपकार प्रसुति गृहको मात्रै अनुगमन गरेको छ । दुई ठूला केन्द्रीय अस्पतालको भने दुई वर्षअघि गरिएको इक्वीपमेन्ट अडिट रिपोर्टलाई आधार मानेर प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिका संयोजक डा. विकास देवकोटाले आफूहरुलाई दिइएको समयभन्दा एक दिन अगाडि नै प्रतिवेदन तयार पारिसकेको बताए । ‘हामीलाई दिइएको एक दिन अगावै प्रतिवेदन तयार पारिसकेका छौं,’ डा. देवकाटाले भने, ‘समय कम भएको हुँदा संघीय अस्पतालको मात्रै रिपोर्ट समेटिएको छ । प्रदेश र स्थानीय तहका अस्पतालहरुको रिपोर्ट माग गरेका छौं ।’

समितिका एक सदस्यकाअनुसार कोभिड—१९ का बेला ल्याइएका आईसीयु, एचडियु र भेन्टिलेटर प्रयोग नभएको, उपकरणहरु ल्याएर थन्काइएको, बिग्रिएका उपकरणहरु मर्मत नगरेकोलगायतका समस्या अनुगमनका क्रममा पाइएका थिए । ‘कान्ति अस्पतालको स्टोर व्यवस्थापनमा धेरै नै समस्या रहेको देखियो,’ ती सदस्यले भने, ‘थापाथलीको समग्रमा सन्तोषजनक अवस्था छ ।’

स्वास्थ्यमन्त्री बस्नेले पहिलो निर्णयका रुपमा २१ बैशाखमा स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरु भइरहेको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोत, औजार उपकरणको अत्याधिक उपभोग भए नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी प्रतिवेदन पेश अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गरेका थिए ।

उक्त समितिमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक, उपचारात्मक महाशाखाका निर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक सदस्य छन् । समितिको सदस्यसचिवमा भने मन्त्रालयको अनुगमन तथा मुल्यांकन शाखा शाखा प्रमुख डा. गुणानिधी शर्मा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ