२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेनी अस्पतालमा ५६ वर्षीया महिलाको खुट्टाबाट शल्यक्रिया गरेर हटाइयो ५ किलोको ट्युमर

बेनी अस्पतालमा ५६ वर्षीया महिलाको खुट्टाबाट शल्यक्रिया गरेर हटाइयो ५ किलोको ट्युमर


काठमाडौं-म्याग्दीको बेनी अस्पतालमा एक महिलाको खुट्टामा रहेको ५ किलोको ट्युमरको जटिल शल्यक्रिया भएको छ । आइतबार निःशुल्क सर्जिकल विशेषज्ञ शिविर लिएर बेनी अस्पताल पुगेका नेपाल अर्थोपेडिक्स अस्पतालका चिकित्सकहरुको टोलीले ५६ वर्षीया एक महिलाको ‘न्यूरोफिब्रोम्याटोसिस’ नामक ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

ती महिलाको खुट्टाको तिघ्रामा विगत १२ वर्षदेखि ५ किलोको ट्युमर झुण्डिरहेको थियो । ‘१०–१२ वर्षदेखि उहाँ खुट्टामा ५ किलोको ट्युमर लिएर हिडिरहनु भएको थियो,’ नेपाल अर्थोपेडिक्स अस्पतालका निर्देशक एवं वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. कैलाश भण्डारीले भने, ‘हामीले उहाँको खुट्टाबाट ५ किलोको ‘न्यूरोफिब्रोम्याटोसिस’ ट्यमुर काटेर निकाल्यौं ।’

उक्त ट्युमरको शल्यक्रिया गर्न चिकित्सकहरुलाई ६ घण्टा लागेको थियो । विहान १० बजे चिकित्सकहरुले ती महिलाको ट्युमरको शल्यक्रिया सुरु गरेका थिए, जुन दिउँसो ३ बजेमात्रै सकिएको थियो ।

चिकित्सकहरुले शल्यक्रिया गरेर फालेको ५ किलोको ट्युमर

बेनीको पुगेको अर्थोपेडिक्स अस्पतालको विशेषज्ञ टिमको नेतृत्व गरिरहेका डा. भण्डारीले शल्यक्रियापछि बिरामीको अवस्थामा सामान्य रहेको र उनको स्वास्थ्य लाभ भइरहेको बताए । शल्यक्रिया प्लास्टिक सर्जन डा. निरन महर्जन नेतृत्वको टिमले गरेको थियो । एनेस्थेसियामा भने डा. संयुक्त आचार्यको टिमले सघाएको थियो ।

२९ बैशाखदेखि बेनी नगरपालिका र बेनी अस्पतालसँगको सहकार्यका नेपाल अर्थोपेडिक्स अस्पतालको १८ जना विशेषज्ञ चिकित्सकको टोलीसहित बेनी अस्पतालमा निःशुल्क सिर्जिकल क्याम्प संचालन गरिरहेको छ । उक्त क्याम्प १ जेठसम्म संचालन हुनेछ । निःशुल्क सर्जिकल शिविरमा हाडजोर्नीका शल्यक्रिया, हाडजोर्नी सम्बन्धि ओपीडी सेवा प्रवाह भइरहेको छ । निर्देशक डा. भण्डारीकाअनुसार ५० देखि ६० जनाको निःशुल्क शल्यक्रिया र १ हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य रहेको छ ।

शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ