२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिलले यही शैक्षिक सत्रबाट क्रिटिकल केयर नर्सिङ अध्यापन गराउने

सिभिलले यही शैक्षिक सत्रबाट क्रिटिकल केयर नर्सिङ अध्यापन गराउने


काठमाडौं—नेपाल निजामती अस्पतालले यही शैक्षिक सत्रबाट क्रिटिकल केयरमा बीएन अध्यापन गराउने भएको छ । सोमबार अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधी पौडेलले यही शैक्षिक सत्रबाट २० जना नर्सलाई क्रिटिकल केयरमा अध्यापन गराउन लागेको जानकारी दिए ।

अस्पतालले लामो समयदेखि एकेडेमिक सेन्टरका रुपमा अस्पताललाई विकास गर्ने तयारी गरिरहेको छ । डा. पौडेलकाअनुसार एमडी÷एमएसका ३ जना रेजिडेन्ट चिकित्सक र हेमाटोलोजीमा सुपरस्पेसियालिटी एमसीचएच गर्ने २ जना विद्यार्थीलाई पनि अस्पतालले अहिले अध्यापन गराइरहेको छ ।

‘हामी शिक्षण अस्पताल हुने प्रयासमा छौ,’ उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय परेको छ ।’ उनले वीर अस्पतालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत, त्रिवि शिक्षण अस्पताल शिक्षा मन्त्रालय मातहत र सिभिल अस्पताल सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विकास गरिएको तीन अस्पतालहरुले प्रभावकारी सेवा दिन आम मानिसले सर्वसुलभ चिकित्सा सेवा पाउने बताए ।

अहिले सिभिल अस्पतालमा दैनिक ८ सयदेखि १२ सयसम्म बिरामी ओपीडीमा आउने गर्छन् । अस्पतालले आफ्नो खर्च आफै कमाएर धान्दै आइरहेको छ । हाल १३२ शैय्या संचालनमा रहेको अस्पतालले केही महिनाभित्रै ३०० शैय्या संचालनको तयारी गरिरहेको छ । चीनले अस्पतालको पुरानो संरचनाको रेनोभेसन गरिदिएको छ भने अस्पतालमा नयाँ बनेको भवन १५ बैशाखमा हस्तान्तरण गरिसकेको छ । जसका कारण अस्पतालले आफ्नो शैय्या विस्तार गर्न लागेको हो ।

सिभिलले एमआरआई र रेडियोथेरापी सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । ‘हामीले नेपालमै पहिलो पटक थ्री टेस्लाको मेसिनबाट एमआरआई सेवा सुरु गर्न लागेका छौं,’ उनले भने । डाइलाइसिस सेवा विस्तारका लागि पनि अस्पतालले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारसँग छलफल गरिरहेको छ ।

अस्पतालले अहिले प्रदेशमा रहेका संघीय अथवा प्रादेशिक अस्पतालसँगको सहकार्यमा सिभिल अस्पतालमा पाइने छुट कर्मचारीहरुलाई त्यहीबाट उपलब्ध गराउनेछ । ‘त्यसका लागि हामीले ५ वटा प्रदेशका संघीय र प्रादेशिक अस्पतालहरुसँग समन्वय गरिसकेका छौं,’ उनले भने, ‘अब कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै समन्वय गर्न बाँकी छ ।’ केही समयमै ती अस्पतालमा कर्मचारीले उपचार गरेपछि सिभिल अस्पतालबाट पाउने छुट लिन सक्नेछन् । त्यसबापतको रकम सिभिलले ती अस्पतालहरुलाई उपलब्ध गराउनेछ ।

कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालको सेवालाई चुस्तदुरुस्त पार्न पनि पहलहरु जारी रहेको जानकारी दिए । उनले अहिले अस्पतालको प्रयोगशालाबाट हुने परीक्षणको रिपोर्ट मोबाइल र अनलाइनबाटै बिरामीलाई उपलब्ध गराउन थालिएको बताए । अस्पतालले असारबाट ४ वटा एनआईसीयु र ३ वटा पीआईसीयु संचालन गर्ने जनाएको छ ।

शैक्षिक संस्थाका रुपमा विकास गर्न पूर्वाधारको अभाव

सिभिल अस्पताललाई एकेडेमीका रुपमा विकास गर्न पर्याप्त ठाउँको अभाव छ । जग्गाका विषयमा पनि बोर्डबाट निर्णय भएर उपयुक्त ठाउँमा रहेको जग्गा उपलब्ध गराउन सरकारलाई सिफारिस भइसकेको छ । त्यसबाहेक पूर्वाधार अभावको समस्या हल गर्न अस्पतालले अहिले प्रशासनिक भवन रहेको ठाउँमा १५ तलाको नयाँ भवन बनाउन डिपिआर बनाउने काम अगाडि बढाइसकेको छ भने त्यसबाहेक खाली रहेको अर्को ठाउँमा प्रशासनिक भवन बनाउनका लागि डिपिआर बनिरहेको छ । रेडियोथेरापी संचालन गरिने भवनमाथि पाँच तला थप गरेर ओपीडीलाई सहज बनाउन लागिएको जानकारी उनले दिए ।

‘जबसम्म एकेडेमी बन्दैन्, तबसम्म सेवा राम्रो हुँदैन्,’ डा. पौडेलले भने, ‘एकेडेमीमा आएपछि उच्चस्तरको सेवा प्रवाह हुन्छ ।’ उनले त्यसका लागि आफूहरु निरन्तर फ्याकल्टीलगायतका कुराहरु जुटाउन लागिरहेको समेत उल्लेख गरे । पूर्ण रुपमा सिभिललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न समय लाग्ने बताउँदैं उनले अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)सँगको सहकार्यमा एकेडेमिक कामहरु भइरहेको उल्लेख गरे ।

पूर्वाधारबाहेक अस्पतालले कर्मचारीको आन्दोलनलगायतका समस्या बेला—बेलामा झेल्दै आएको छ । अस्पतालमा अहिले स्थायी ४० जना, १२० जना करार र अन्य सबै दैनिक ज्यालादारीका कर्मचारीले काम गरिरहेका छन् । ‘लोकसेवा र आन्तरिक प्रतिस्पर्धाबाट कर्मचारीलाई परेको समस्या समाधान गर्न प्रक्रिया सुरु गरिएको छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ