२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकीर्तिपुर अस्पताललाई अमेरिका नेपाल मेडिकल फाउण्डेसनको १ करोड २९ लाख

कीर्तिपुर अस्पताललाई अमेरिका नेपाल मेडिकल फाउण्डेसनको १ करोड २९ लाख


काठमाडौं—कीर्तिपुरस्थित कीर्तिपुर अस्पताललाई अमेरिका नेपाल मेडिकल फाउण्डेसनले १ करोड २९ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । फाउण्डेसनका पूर्व अध्यक्ष डा. सन्तोष सापकोटाले अस्पतालको सुविधा विस्तारका लागि फाउण्डेसनले उक्त रकम दिन लागेको बताए ।

‘अमेरिका नेपाल मेडिकल फाउण्डेसनले कीर्तिपुर वर्न सेन्टलाई १ करोड २९ लाख रुपैयाँ सहयोग गर्ने भएको छ,’ डा. सापकोटाले भनेका छन्, ‘हामीहरु सबैजना मिलेर यो केन्द्रलाई कुनै पनि नेपाली जलन उपचारका लागि विदेश जान नपर्ने संस्थाका रुपमा स्थापना गर्न हातेमालो गरौं ।’

कीर्तिपुर अस्पतालले बर्न सेन्टरको स्तरोन्नतीलगायतका कुरामा उक्त रकम खर्च गरिनेछ । जलनका र तालु खुडे बिरामीहरुको सबै उपचार गरिरहेको उक्त अस्पताल अहिले फेक्ट नेपाल संस्थाले चलाइरहेको छ ।

अमेरिका नेपाल मेडिकल फाउण्डेसन अमेरिकामा रहेका नेपाली चिकित्सकहरुको साझा संस्था हो । यसले नेपालको चिकित्सा जगतका विविध कार्यहरुमा सघाउँदैं आएको छ ।

आइतबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं उपत्यकामा जलनका बिरामीको उपचार हुने अस्पतालका निर्देशक र उपचार गर्ने चिकित्सकहरुसँग छलफल गरेका थिए । छलफलमा जलनको उपचारलाई कसरी सहज बनाउने र उपत्यका बाहिर जलन परेका बिरामीलाई सहज सेवा दिने भन्ने विषय कुरा भएको थियो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले उपत्यका बाहिरका संघीय अस्पताल, प्रदेश अस्पतालहरुसँग समन्वय गरी सहजीकरण गर्नका लागि नेटवर्क बनाउने, सम्पर्क व्यक्तिहरु तोक्ने र टेलिमेडिसिनमार्फत एकीकृत रुपमा सेवा प्रवाह गर्ने व्यवस्था गर्न सरकारले तयारी गर्ने धारणा राखेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ