२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३५ वर्षीय युवा चिकित्सक डा. बसन्त सुन्धाराको होटलमा मृत भेटिए

३५ वर्षीय युवा चिकित्सक डा. बसन्त सुन्धाराको होटलमा मृत भेटिए


काठमाडौं—युवा चिकित्सक डा. बसन्त कार्की सुन्धाराको एक होटलमा मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझ ६ बजेतिर प्रहरीले उनलाई सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालकाअनुसार बुधबार साँझ उनी होटलको आफू बसिरहेको कोठामा मृत अवस्थामा फेला परेका हुन् । ‘हिजो साँझ ४—५ बजेसम्म बाहिर ननिस्केपछि होटलवालाले ढोका ढकढकाएछन्, नखुलेपछि प्रहरीलाई खबर गरे,’ उनले भने, ‘हामी गएर ढोकाको काँचको छिडीबाट हेर्दा सुतिरहेको अवस्थामा देख्यौं । ढोका फोडेर भित्र पस्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।’

प्रहरीकाअनुसार केही विषका बट्टाहरु पनि उनी सुतेको कोठाबाट बरामद भएका छन् । प्रहरीले उनलाई मुखबाट फिज निस्केको अवस्थामा फेला पारेको थियो । अहिले घटनाबारे  प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

डा. कार्कीले १५ जेठबाट कोठा लिएर बसेको जानकारी आफूहरुलाई प्राप्त भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए । प्रहरीकाअनुसार उनले आफू वर्कसपका लागि प्रिजेन्टेसनको तयारी गरिरहेकाले डिस्टर्व नगर्न होटलका कर्मचारीलाई आग्रह गरेका थिए ।

नेपाल चिकित्सक संघले डा. कार्कीको असामयिक निधनबाट स्तब्ध भएको जनाएको छन् । ‘इमान्दार, लगनशील र युवा चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहत भएको छ,’ संघका महासिचव सन्जिव तिवारीले भनेका छन् ।

डा. कार्कीसँगै एमबीबीएस पढेका डा. सुवोध शर्मा उनी एक मेहनती युवा चिकित्सक भएको बताउँछन् । ‘हामी युसीएमएसमा एमबीबीएस सँगै पढेका हौं,’ उनले भने, ‘रमाइलो गर्ने पढाइमा एकदमै रुचि भएको साथी हुन् ।’

ओखलढुंगाको स्यानम स्थायी घर भएका डा. कार्कीले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए । छात्रवृत्तिमा एमबीबीएस पढेका उनले त्यसपछि दुई वर्ष छात्रवृत्ति करारनामाअनुसार ओखलढुंगामै काम गरेका थिए ।

हालै मात्र उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पेडियाट्रिकमा विशेषज्ञता हासिल गर्न भर्ना भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ