२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री बस्नेतको दावी : ‘बालेनले गफ गरे म भित्रभित्रै काम गर्दै थिएँ’

स्वास्थ्यमन्त्री बस्नेतको दावी : ‘बालेनले गफ गरे म भित्रभित्रै काम गर्दै थिएँ’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य संस्था अनुगमनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हल्ला मात्रै गरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले बालेनले गफ गरेको र आफू भित्रभित्रै काम गरिरहेको बताएका छन् ।

‘बालेलने गफ गरे म भित्रभित्रै काम गर्दै थिए, उनले बाहिर हल्ला गरे । स्वास्थ्य संस्था अनुगमन कसरी गर्ने भनेर तयारी गर्दै थिए,’ उनले भने, ‘त्यही बेला आएर बाहिर हल्ला गर्नुभयो ।’

उनले आफूले मेयर शाहलाई एक हप्तामा काम गर्छु भनेरको उल्लेख गर्दै एक हप्ता पूरा नगर्दै अनुगमन गरेको बताए । शुक्रबार मन्त्री बस्नेतले केही अस्पतालको अनुगमन गरेका थिए ।

मन्त्री बस्नेतले अनुगमनमा काठमाडौंका मेयर बालेनलाई बोलाएपनि नआएको दावी गरे । ‘मैले अनुगमनमा बालेनलाई पनि बोलाएको आउनुभएन,’ उनले भने, ‘उहाँ मसँग भेटेर बाहिर निस्किएपछि सामाजिक संजालमा हल्ला गर्नुभएछ ।’

मंगलबार मेयर बालेनले विपन्न र लक्षिण वर्गलाई सेवा दिएको विवरण नबुझाउने अस्पताललाई कारवाही गर्न स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले महानगरलाई १० प्रशित विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको नाम उपलब्ध गराएका थिए ।

ती स्वास्थ्य संस्थाको अनुगमन तथा कारवाही गर्न उनले मन्त्री बस्नेतलाई एक साताको अल्टिमेट दिएका थिए । एक साताभित्र अनुगमन र कारवाही नगरेर महानगरले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गराउने चेतावनी दिएको थियो ।

महानगरले ६ जेठमा एक साताभित्र १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क उपचार गरेको विवरण महानगरभित्रका स्वास्थ्य संस्थाहरुसँग माग गरेको थियो । तर, महानगरभित्रका ६८ स्वास्थ्य संस्थाले समयभित्र त्यो विवरण उपलब्ध नगराएपछि बालेनले एक्सन सुरु गरेका थिए । स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को परिच्छेद २४ दफा ७ (घ) बमोजिम विपन्न, असहाय, वेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (४) खमा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई दिइएको छ ।

काठमाडौं महानगरभित्र संघीय, प्रादेशिक र स्थानीय तहका स्वास्थ्य संस्थाहरु छन् । रोचक त के भने मन्त्री बस्नेतले जे दावी गरेपनि मेयर बालेनले यो मुद्धा नउठाएसम्म स्वास्थ्य संस्था अनुगमन गर्न, विपन्न र लक्षित वर्गलाई १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क उपचार गरे नगरेको अनुगमन गर्न मन्त्रालय प्रशासनले काम अगाडि बढाएको थिएन । बालेन तातेपछि मात्रै स्वास्थ्यमन्त्री बस्नेत शुक्रबार केही अस्पताल पुगेर अनुगमन गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ