२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नेशनल हस्पिटल र नेपाल रिङ रेस्लिङ संघबीच उपचार सेवा सम्बन्धि सम्झौता

नेपाल नेशनल हस्पिटल र नेपाल रिङ रेस्लिङ संघबीच उपचार सेवा सम्बन्धि सम्झौता


काठमाडौं—नेपाल रिङ रेस्लिङ संघ र नेपाल नेशनल हस्पिटलले खेलाडीहरुको उपचार सम्बन्धि सम्झौता गरेका छन् । मंगलबार नेपाल नेशनल हस्पिटलमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा संघका महासचिव सुवर्णा श्रेष्ठ र हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जसअनुसार अस्पतालले नेपाल रेस्लिङ संघका आवद्ध खेलाडी र तिनका परिवारलाई छुट सहितको उपचार सेवा उपलब्ध गराउनेछ । सम्झौतापछि बोल्दैं मेडिकल निर्देशक डा. पौडेलले खेलाडीहरुको स्वास्थ्य अवस्थामा नेपाल नेशनल हस्पिटल सदैव साथ रहने बताउँदैं निश्चिन्त भएर खेल्न आग्रह गरे ।

‘यो नेपाल नेशनल हस्पिटलका लागि महत्वपूर्ण कुरा हो । खेलाडीहरुको स्वास्थ्य सम्बन्धि सहयोग पुगोस भन्ने प्रयास हाम्रो हो,’ उनले भने, ‘म खेलाडीहरुलाई निश्चिन्त भएर खेल्न आग्रह गर्दछु ।’ उनले रिङ रेस्लिङमा नेपाली खेलाडीहरु युवाहरुका लागि आइकन बनुन भन्ने आफूहरुको चाहना भएको उल्लेख गरे ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव श्रेष्ठले उपचार सम्बन्धि सम्झौता गर्ने अवसर प्रदान गरेकोमा अस्पताललाई धन्यवाद दिइन् । ‘खेल र ट्रेनिङका क्रममा खेलाडीहरु घाइते हुन्छन् । तर, उपचारका लागि आर्थिक अवस्था राम्रो हुँदैन्, चिन्ता लिएर खेल्नुपर्छ,’ उनले भनिन्, ‘तर, अब नेपाल नेशनल हस्पिटल उपचारका लागि साथमा भन्ने कुराले हाम्रो त्यो चिन्ता हटेको छ ।’ उनले नेपाल नेशनल हस्पिटल संघको सहकार्य निरन्तर जारी रहने बताउँदैं खेलकूद क्षेत्रमा अस्पतालले पु¥याएको योगदानको समेत प्रशंशा गरिन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले खेल र स्वास्थ्यको सम्बन्ध नङ र मासुको जस्तै भएको धारणा राखे । ‘खेल क्षेत्र र नेपाल नेशनल हस्पिटलको सहकार्य राम्रोसँग अगाडि बढिरहेको छ,’ उनले भने, ‘यो खेलाडीका लागि मात्रै नभएर राष्ट्रका लागि अस्पतालले योगदान गरिरहेको छ ।’ उनले अस्पताल खेल अभियानमा जोडिएको खुसी व्यक्त गरे ।

कार्यक्रममा रेस्लर नुवाकोट टाइगरले खेलाडीको स्वास्थ्य तलमाथि भइरहने भएकाले अस्पतालसँगको सहकार्य जरुरी रहेको बताए । ‘खेलकूदमा लाग्ने मानिसको स्वास्थ्य अवस्था तलमाथि भइरहन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय एरिनामा देशको झण्डा उठाउने खेलाडीहरु तालिम र प्रतिस्पर्धाका क्रममा स्वास्थ्य समस्या बोक्नुपर्छ । अस्पतालले स्वास्थ्य समस्या समाधानमा सहकार्य गर्ने भएपछि झन प्रेरणा मिलेको छ ।’

सो क्रममा विभिन्न खेलाडीहरुलाई सम्मान गरिनुका साथै नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटे टाइगरलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न रेस्लर खेलाडी, संघका पदाधिकारी, अस्पतालका कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ