२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी

यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी

ठगीमा संलग्न भएको आरोपमा तीन जना कर्मचारी पक्राउ, अन्य थपको खोजी हुँदै


काठमाडौं—नेपाल मेडिसिटी अस्पतालका कर्मचारीहरुको मिलेमतोमा बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख रुपैयाँभन्दा बढी गायब भएको पाइएको छ । ललितपुर प्रहरीका डिएसपी भुवनेश्वर साहकाअनुसार बिरामीबाट लिइएको रकमभन्दा हस्पिटलको सिष्टममा कम इन्ट्री गरी २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी भएको पाइएको हो ।

ठगी प्रकरणको प्रहरीले अनुसन्धान जारी राखेको छ । सोमबार र मंगलबार प्रहरीले उक्त ठगीमा संलग्न रहेको आरोपमा अस्पतालको बिलिङमा काम गर्ने तीन जना कर्मचारीलाई पक्राउ गरेर थप अनुसन्धान जारी राखेको छ । ‘हामीले उक्त ठगीमा संलग्न तीन जनालाई हिजो र अस्ति पक्राउ गरेर अनुसन्धान जारी राखेका छौं,’ साहले भने, ‘विभिन्न मितिमा ठूलो रकम ठगी भएको पाइएको छ ।’

ठगीको आरोपमा पक्राउ परेका तीन जना कर्मचारीमा बिलिङमा कार्यरत एक्जुकिटीभ आईपी विलिङ ३४ वर्षीय राघव सापकोटा, २९ वर्षीय सनम देशार र ३४ वर्षीय आशिष अर्याल रहेका छन् । राघव दोलखा भीमेश्वर, देशार चापागाउँ र अर्याल काठमाडौंको बालुवाटारका हुन् ।

उनीहरुले अस्पतालले प्रयोग गरिरहेको शुक्र नामक एचएमआईएस सफ्टवेयर दुरुपयोग गरेर डाक्टर चार्ज, बेड चार्ज, नर्सिङ चार्ज बापत सर्वसाधारणबाट लिएको शुल्कभन्दा कम शुल्क इन्ट्री गरेर ठगी गरेको पाइएको शाहले जानकारी दिए । ‘हामीले अहिले थुप्रै डकुमेन्टहरु झिकाएर अनुसन्धान गरिरहेको छौं,’ उनले भने, ‘अनुसन्धान अझै जारी छ ।’

पक्राउ गरिएकाहरुमाथि प्रहरीले अपराधिक लाभ र अपराधिक विश्वासघात कसुरमा ललितपुर अदालतबाट पाँच दिनको समय लिएर अनुसन्धान जारी राखेको छ ।

नेपाल मेडिसिटी अस्पताल स्रोतकाअनुसार यो ठगीकाण्डमा अस्पतालका ९ जनाभन्दा बढी कर्मचारी संलग्न रहेको पाइएको छ । अन्य थप कर्मचारीको पनि प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।

अस्पतालले बिलिङ काउण्टरबाटै रकम गायब पारिएको थाहा पाएपछि ललितपुर प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले छानविन गर्दा ठगी भएको पाइएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ