२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच विस्तार र ४ अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने

विशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच विस्तार र ४ अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने

सेती प्रादेशिक अस्पतालमा वर्न सेन्टर विस्तार गरिने


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार सुदूरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई पनि महत्वका साथ प्रस्तुत गरेको छ । जसमा सेती प्रादेशिक अस्पतालमा वर्न युनिट सेवा विस्तार गरी आधुनिक निदान पद्धतिबाट सेवा प्रदान गरिने उल्लेख छ ।

यसैगरी, विशेषज्ञ तथा विशिष्कृत स्वास्थ्य सेवामा पहुँच विस्तार र गुणस्तर वृद्धि गर्ने, स्वास्थ्य सेवामा सबैको पहुँचका लागि टेलिमेडिसिनलगायत इ–हेल्थ र विस्तारित स्वास्थ्य सेवा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा विस्तार एवं सुधार र लक्षित वर्गको पोषण सुधार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश मातहत रहेका अस्पतालको स्तरोन्न्ती तथा क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहबाट सञ्चालित बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्की चुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नती गर्न स्थानीय तहसँग समन्वय र साझेदारी गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

सिकलसेल एनिमिया, थालसेमिया, हेमोफिलियाजस्ता रोगहरुको स्क्रिनिङको दायरा बढाएर प्रदेश भित्र नै उपचारको व्यवस्था मिलाउने, नसर्ने रोग नियन्त्रण तथा रोकथामको लागि आयुर्वेदका विशिष्कृत पुर्वकर्म पञ्चकर्म योग तथा स्वास्थ्य जीवन सेवा विस्तार गर्न प्रदेश मातहतका आयुर्वेद स्वास्थ्य संस्थालाई सुदृढीकरणका साथै प्रदेश स्तरीय योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनाका लागि प्रारम्भिक अध्ययन गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।

वौद्धिक अपांगता तथा अटिजम भएका व्यक्तिहरुका लागि गैर सरकारी संघ संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा शारीरिक अशक्तता पुनःस्थापना केन्द्रहरुको स्थापना र विस्तार गरी विशेषज्ञ सेवा प्रदान गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ