२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले काम नगरेपछि मेयर बालेन एक्सनमा, दुई अस्पताल सिल

स्वास्थ्य मन्त्रालयले काम नगरेपछि मेयर बालेन एक्सनमा, दुई अस्पताल सिल


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्तासम्म अस्पताल तथा स्वास्थ्य संस्था अनुगमन र कारवाही अगाडि नबढाएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाह एक्सनमा उत्रिएका छन् । सोमबारबाट महानगरपालिकाले महानगरभित्रका अस्पताल अनुगमन सुरु गरेको छ ।

पहिलो दिन महानगर अनुगमन टोलीले वौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर अनुगमन गरेको हो । सो क्रममा दुवै अस्पतालले मापदण्डअनुसार संचालन नभएको र निःशुल्क १० प्रतिशत शैय्या उपलब्ध नगराइएको भन्दैं महानगरले सिल गरेको छ ।

महानगरका सह—प्रवक्ता दिपक अधिकारीले अस्पतालका लागि हुनुपर्ने कुनै पनि मापदण्ड पूरा नगरेर संचालन गरिएकाले दुवै अस्पताल सिल गरिएको बताए । ‘दुवै अस्पताल बिना दर्ता चलेका छन् । पार्किङ छैन, वर्थिङ सेन्टर भनेकोमा वर्थिङ सेन्टर नै छैन्,’ सहप्रवक्ता अधिकारीले हेल्थआवाजसँग भने, ‘ठाउँ पनि अस्पताल संचालन नै गर्न नसकिने सानो ठाउँ छ । अस्पतालमा हुनुपर्ने कुनै पनि सुचक पूरा नगरेका कारण सिल गरेका हौं ।’

अधिकारीले अस्पतालले विपन्न र लक्षित वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्ने १० प्रतिशत शैय्याको व्यवस्था पनि नभएको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसअघि विपन्न र लक्षित वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्ने १० प्रतिशत शैय्या उपलब्ध नगराउने ६८ अस्पताल तथा स्वास्थ्य संस्थाको सूची स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका थिए । सो क्रममा उनले मन्त्री बस्नेतलाई ती स्वास्थ्य संस्थाहरुको अनुगमन तथा कारवाही एक हप्ताभित्र गर्न अल्टिमेटम दिएका थिए ।

तर, स्वास्थ्य मन्त्रालयले उक्त कार्य गर्न नसकेपछि महानगर आफैले अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको हो । महानगरमा संघीय, प्रादेशिक र स्थानीय तथा निजी स्वास्थ्य संस्थाहरु संचालनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ