२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको उपकुलपतिका लागि ९ जनाको आवेदन, को होला भिसी ?

न्याम्सको उपकुलपतिका लागि ९ जनाको आवेदन, को होला भिसी ?


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) उपकुलपति (भिसी)का लागि ९ जनाले आवेदन दिएका छन् । मन्त्रालय उच्च स्रोतकाअनुसार उपकुलपति सिफारिसका लागि आवेदन दिन अन्तिम दिन गत बिहीबारसम्म ९ जना चिकित्सकहरुले आवेदन दिएका छन् ।

जसमा वीर अस्पतालको रेडियोलोजी विभागका प्रमुख प्रा. डा. सरोज शर्मा, अहिलेका निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत, प्रसुति गृहका पूर्व निर्देशक प्रा. डा. अमिरबाबु श्रेष्ठ छन् ।

यसैगरी, वीर अस्पतालका कजेजो रोग विशेषज्ञ प्रा.डा. अनिल मिश्र, वीरकै ११ औं तहका कार्डियोभास्कुल सर्जन डा. दीपक थापा, वीरका पूर्व निर्देशक तथा अर्थोपेडिक सर्जन प्रा.डा. बुलन्द थापा, न्याम्सका निवर्तमान डिन डा. पियुष दाहाल, कान्तिका बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझी र डा. दीर्घराज जोशी रहेका छन् ।

२६ जेठमा न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहकुलपतिको संयोजकत्वमा तीन सदस्सीय उपकुलपति छनोट समिति गठन गरेका थिए । समितिका संयोजकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र सदस्यहरुमा योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेका छन् ।

समितिले एक साताभित्र योग्य व्यक्तिबाट आवेदन माग गरेको थियो । अब आवेदन ९ जनाबाट सर्टलिष्ट गरेर सिफारिस समितिले तीन जनाको नाम कुलपति समक्ष पेश गर्नेछ । कुलपति प्रधानमन्त्री दाहालले उक्त तीन जनामध्येबाट एक जनालाई न्याम्सको उपकुलपतिमा नियुक्त गर्नेछन् ।

न्याम्सको उपकुलपतिका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसनिकट चिकित्सकहरु तीब्र लबिइङमा छन् ।

३० फागुनमा तत्कालीन उपकुलपति प्रा.डा. डिएन साहको कार्यकाल सकिएपछि न्याम्सको उपकुलपति पद रिक्त रहेको छ । गठबन्धन सरकारले लामो समयसम्म न्याम्सको पदाधिकारी नियुक्त गर्न सकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ