२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ


विराटनगर—असुरक्षित गर्भपतन गराउने क्रममा एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा झापाको दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो ।

मोरङको उर्लाबारी–६ मा रहेको आश्रय मेडिकल हलले गर्भपतन गर्न दिएको औषधि सेवनबाट राईलाई अत्याधिक रक्तस्राव र संक्रमणका कारण उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनले दमक–४ घर भई उर्लावारीमा मेडिकल पसल सञ्चालन गर्दै आएका ४० वर्षीय सन्तोष घिमिरेलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए ।

घिमिरेको मेडिकल हलमा ३२ जेठमा गर्भपतन गराउनका लागि कल्पना पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘आश्रय मेडिकल हल पुगेकी कल्पनालाई औषधि दिएर अवैध तरिकाले गर्भपतन गराउँदा मृत्यु भएको खुलेको छ,’ डिएसपी दाहालले भने, ‘मेडिकल सञ्चालकले अवैध तरिकाले गर्भपतन गराउन औषधि खुवाएका थिए । कल्पनालाई कुन औषधि दिइएको खुल्न सकेको छैन ।’

घिमिरेले सञ्चालन गरेको मेडिकल हल गर्भपतन गराउनका लागि अनुमति प्राप्त गरेको संस्था नभएको प्रहरीले जनाएको छ । घिमिरेले गर्भपतनका लागि खान दिएको औषधि खाएपछि कल्पनालाई रक्तस्राव हुन थाल्यो र नरोकिएपछि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा थप उपचार लागि घिमिरेले नै लगेका थिए ।

‘अस्पताल भर्ना गर्दा कल्पनाका श्रीमान युवराज पनि सँगै गएका थिए । गम्भीर अवस्थामा अस्पताल पुगेकी कल्पनालाई चिकित्सकले परीक्षण गर्दा गर्भमा रहेको शिशुको मृत्यु भइसकेको पत्ता लाग्यो,’ डिएसपी दाहालले भने ।

‘अस्पताल ल्याउँदा अवस्था धेरै गम्भीर थियो । हामीले सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान भनेका थियौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले भने, ‘उनको परिवारले अन्यत्र लैजान आर्थिक समस्या रहेको भनेपछि यहाँ नै उपचार थाल्यौं । रक्तस्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्नका लागि शल्यक्रिया गरे पनि रक्तस्राव रोकिएन् ।’

बिरामीको शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि रेफर गरिएको डा. साहले बताए । शनिबार राति नै कल्पनालाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्दैगर्दा आइतबार बिहान पौने ४ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरानमा उपचारका क्रममा मृत्यु भएपछि कल्पनाको शव ल्याएर ट्रमा सेन्टर अगाडि राखेर परिवार र आफन्तले ट्रमा सेन्टर र चिकित्सकविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले चिकित्सकको लापरवाहीले गर्दा घटना भएको भन्दै आइतबार दिनभर ट्रमा सेन्टर अगाडि शव राखेर लापरबाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन मेडिकल पसलले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि सञ्चालक घिमिरेलाई पक्राउ गरी मोरङ अदालतमा सोमबार ज्यान सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । मृतकको शव कोशी अस्पतालमा पोष्टमार्टपछि परिवारले बुझेर लगेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ