२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा काठमाडौं महानगरको ९२ करोड ६६ लाख रुपैयाँ बजेट

स्वास्थ्यमा काठमाडौं महानगरको ९२ करोड ६६ लाख रुपैयाँ बजेट

बालबालिकाका लागि ‘निर्दिष्ट नगर अस्पताल’, ‘स्वच्छ भान्सा’ र ‘स्वर्णिम फार्मेसी’जस्ता योजना अगाडि बढाइने


काठमाडौं—काठमाडौं महानगरपालिकाले स्वास्थ्यतर्फ ९२ करोड ६६ लाख बजेट छुट्याएको छ । आइतबार महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ लागि २५ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको हो ।

नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यतर्फ ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको छ । ‘महानगरको समग्र स्वास्थ्य कार्यक्रमतर्फ रु. ९२ करोड ६६ लाख ४४ हजार बिनियोजन गरेको छु,’ उपमेयर डंगोलले भनिन् ।

काठमाडौं महानगरपालिकाभित्रका सहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नतीसहित स्वास्थ्य प्रवर्द्धनमा रुपान्तरण गरी ‘महानगरवासीका लागि सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजनामार्फत सरल र सुलभ उपलब्ध गराउन ३५ करोड रकम विनियोजन गरिएको छ । यसैगरी, महानगरवासीलाई सहुलियत मुल्यमा औषधि उपलब्ध गराउनका लागि ‘सुलभ फार्मेसीको स्वर्णिम योजना’ कार्यन्वयन गर्न ६ करोड विनियोजन गरिएको उपमेयर डंगोलले बताइन् ।

यस्तै, महानगरले ध्यान, योग, व्यायाम एवं वैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्धतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धि कार्यक्रम संचालनका लागि आवश्यक बजेटका प्रबन्ध गरेको छ । बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक ‘निर्दिष्ट नगर अस्पताल’ संचालनमा ल्याउन १० करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, नेपालका विभिन्न गाउँपालिकाका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरी उपलब्ध गराउन ७ करोड रकम महानगरले छुट्याएको छ भने काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेसन्स सेवा १०२ हटलाइन संचालन गर्न १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा महानगरभित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्सा’ कार्यक्रमका लागि ३ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

शिक्षातर्फ ‘एक सामुदायिक विद्यालय, एक नर्स’ र ‘एक सामुदायिक विद्यालय, एक सामाजिक सहकर्ता’को व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको उनले जानकारी दिइन् । विद्यालयको ब्युटिफिकेसनका लागि ५ करोड छुट्याइएको उनले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ