२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअध्ययन भन्छ—‘६१ प्रतिशत महिलाहरु अरु बच्चा जन्माउन चाहदैंनन्’

अध्ययन भन्छ—‘६१ प्रतिशत महिलाहरु अरु बच्चा जन्माउन चाहदैंनन्’

परिवार नियोजनमा १३ प्रतिशतले वीर्य बाहिर खसाल्ने विधी प्रयोग गर्ने गरेको पाइएको छ ।


काठमाडौं—नेपालमा ६१ प्रतिशत महिलाले अरु बच्चा जन्माउन नचाहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले ६१ प्रतिशत महिलाले आफ्नो पार्टनर र घरपरिवारको दबाबमा अरु बच्चा जन्माउने गरेको पाइएको हो ।

त्यस्तै, १७ प्रतिशतले दुई वर्षसम्म बच्चा जन्माउन ढिलाइ गर्न चाहन्छन् भने बच्चा जन्माउन रोक्न वा ढिला गर्न चाहने विवाहिता महिलाहरुमा परिवार नियोजनको माग ७८ प्रतिशत छ । अध्ययनअनुसार ९ प्रतिशत महिलाहरु दबाबमा गर्भवती हुने गरेको देखिएको छ ।

बच्चा नभएको महिलाहरु ११ प्रतिशत, १३ प्रतिशत चार जना बच्चा भएको महिलाहरु र २३ प्रतिशत पाँचभन्दा बढी बच्चा भएको महिलाहरु रहेका छन् ।

५७ प्रतिशत महिला परिवार नियोजनको विधी र साधन प्रयोग गर्ने गरेको उक्त सर्वेक्षणमा देखिएको छ । त्यस्तै, भौगोलिक क्षेत्रको आधारमा पनि परिवार नियोजनको साधन प्रयोग गर्नेहरुमा फरक रहेको पाइएको छ ।

१५ देखि ४९ वर्षका विवाहित महिलाहरुमध्ये ५७ प्रतिशतले कुनै न कुनै परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् । जसमध्ये आधुनिक साधन वा विधि प्रयोग गर्ने ४३ प्रतिशत, बन्ध्याकरण १३ प्रतिशत, सुई प्रयोग गर्ने ९ प्रतिशत, इम्प्लान्ट ६ प्रतिशत र कुनै पनि परम्परा र विधि प्रयोग गर्ने १५ प्रतिशत रहेको अध्ययनले देखाएको छ । जसमध्ये १३ प्रतिशतले वीर्य बाहिर खसाल्ने विधी र २ प्रतिशतले केही समय सम्भोग नगर्ने विधी अपनाइरहेका छन् ।

भौगोलिक क्षेत्रको आधारमा, बढ्दो शिक्षा र घरपरिवारको सम्पन्नताले पनि परिवार नियोजन साधनको प्रयोगमा फरक आएको अध्ययनले देखाएको छ । अध्ययनले सहरी क्षेत्रमा ४१ प्रतिशतले परिवार नियोजनको आधुनिक साधन वा विधिको प्रयोग गर्ने र ग्रामीण क्षेत्रमा सोभन्दा बढी ४७ प्रतिशतले प्रयोग गर्ने देखिन्छ । त्यस्तै आधुनिक साधन प्रयोग सबैभन्दा कम गण्डकी प्रदेशमा देखिएको छ भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४७ प्रतिशत रहेको देखिएको छ ।

सन् १९९६ देखि सन् २०२२ सम्म गरेको अनुसन्धानमा परिवार नियोजनका परम्परागत विधि र आधुनिक विधि दुवैमा फरक आएको देखिएको छ । सन् १९९६ मा आधुनिक विधि २६ प्रतिशत थियो । त्यसपछि सन् २००६ मा यो बढेर ४३ प्रतिशत पुग्यो भने त्यसपछि स्थिर रहेको देखिन्छ । परम्परागत विधि प्रयोग गर्ने सन् १९९६ मा ३ हुँदै सन् २०२२ मा १५ पुगेको छ ।

अध्ययनले १५ देखि ४९ वर्षका उमेर समूहको महिलाहरुलाई उनीहरुले प्रयोग गर्ने विधिबाट हुन सक्ने प्रतिकुल असरहरु बारेमा पनि सोधेको थिए । जसका बारेमा ५८ प्रतिशतले जानकारी भएको बताएका थिए र ५३ प्रतिशतलाई प्रतिकुल असर देखिएमा के गर्ने र ५७ प्रतिशतलाई अन्य परिवार नियोजनको बारेमा जानकारी दिएका थिए ।

परिवार नियोजनको साधन र सेवाहरुको मागको पनि अध्ययन गरिएको थियो । जसमा आधुनिक साधन वा विधिहरुको मागमा सन्तुष्टि सन् १९९६ मा ४३ प्रतिशत थियो । जुन सन् २०१६ मा ६१ प्रतिशत पुगेको थियो । साथै परिवार नियोजन आपूर्तिको माग सन् १९९६ मा ३२ बाट झरेर सन् २०२२ मा २१ प्रतिशत रहेको छ ।

परिवार नियोजनको साधन र विधी प्रयोगबारे १४ प्रतिशत महिला एक्लैले निर्णय लिन्छन् भने ७७ प्रतिशतले आफ्नो श्रीमान वा यौन साथीसँग मिलेर निर्णय गर्ने गरेको देखिएको छ ।

प्रदेशअनुसार परिवार नियोजनका आधुनिक साधन वा विधीहरुको मागमा रहेको सन्तुष्टि पनि फरक—फरक छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ५९ प्रतिशत परिवार नियोजनको आधुनिक साधन वा विधीमा सन्तुष्ट छन भने गण्डकी प्रदेशमा सबैभन्दा कम ४४ प्रतिशत सन्तुष्ट छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ