२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १परिमाण र मुल्य बढी हालेर बिरामीसँग ब्रह्मलुट मच्याउँदै फार्मेसी

परिमाण र मुल्य बढी हालेर बिरामीसँग ब्रह्मलुट मच्याउँदै फार्मेसी

एकै औषधिमा ४ पिस बढी हिसाब राखेर १४ हजार ८ सय २० रुपैयाँ ठगी


विराटनगर—मोरङको कटहरी गाउँपालिका १ मा घर भएका विकेश सरदार बिरामी भएपछि १ जेठमा विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा भर्ना भए । उनले उपचार विराट नर्सिङ होममा गराएपनि औषधि भने हस्पिटल अगाडिको चिरञ्जीवी फार्मेसीबाट किने ।

हस्पिटल भित्रका फार्मेसीले भन्दा सस्तो र छुट बढी दिने लोभले बाहिरको फार्मेसीबाट औषधि खरिद गरेका थिए । जब उनी ठिक भएर चिकित्सकले डिस्चार्ज हुने दिन खरिद गरेर उपचारमा प्रयोग भएका औषधिको बिल फार्मेसीले देखाए उनी तीन छक्क परे । किनभने, फार्मेसीले दिएको बिलमा उल्लेख भएको औषधिको परिमाण र मुल्य बढी हालेको शंका उनलाई भयो ।

ठगीमा परेको शंका लागेपछि उनले त्यही अगाडीको अर्को फार्मेसीमा गएर बुझ्दा मुल्य र परिमाण बढाएको देखियो । सरदारले उपचारमा प्रयोग भएको हस्पिटलको सिलिपअनुसार टारगोसिड ४००आईएनजी (Targocid 400 INJ) मेडिसिन ८ पिस मगाएका थिए । तर, चिरञ्जीवी फार्मेसीले उक्त मेडिसिन ८ पिस बिरामीका कुरुवालाई दिएर खातामा १२ पिस लेखे । टारगोसिड मेडिसिन प्रति पिस ३ हजार ७ सय ५ रुपैयाँ पर्दछ । चार पिस बढी हिसाब राख्दा बिरामीबाट चिरञ्जीवी फार्मेसीले १४ हजार ८ सय २० रुपैयाँ बढी लिएको देखिन्छ । टारगोसिड मेडिसन मात्र परिमाण बढाएको भने होइन्, चिरञ्जीवी फार्मेसीले ५ प्रकारको १६ पिस औषधि खातामा बढी चढाएर ३० हजार ४ सय ८० रुपैयाँ बिरामीसँग ठगी गरेको देखिएको छ ।

चिरञ्जीवी फार्मेसीले सरदारलाई सर्जिकल सामानको खरिदमा पनि बढी मुल्य हालेर ठगी गरेको देखिएको छ । उनले १७ प्रकारको सर्जिकल सामान ६१ हजार ७ सय ५ रुपैयाँमा खरिद गर्दा ७ हजार ४ सय ६३ रुपैयाँ बढी मुल्य तिराएर ठगी गरेको देखिएको छ । सर्जिकल सामान एक्जामिनेसन ग्लोब्समा चिरिञ्जवी फार्मेसीले एक सय रुपैयाँ बढी मुल्य हालेर बिरामीलाई ठगी गरेको प्रमाण हेल्थआवाजले भेटेको छ ।

सरदारले चिरञ्जीवी फार्मेसीमा एक्जामिनेसन ग्लोब्स ५ सय ५० रुपैयाँले ३२ पिस लिएका छन् । त्यही एक्जामिनेसन ग्लोब्स हस्पिटलको फार्मेसीमा ५ सय ५० रुपैयाँले पाइन्छ । चिरञ्जीवी फार्मेसीले एक सय रुपैयाँ बढी मुल्य लिएर ३२ पिसको ३ हजार २ सय रुपैयाँ बढी मुल्य लिएको पाइएको छ । सर्जिकल र अन्य औषधी गरी सरदारसँग मात्र चिरञ्जीवी फार्मेसीले ३७ हजार ९ सय ४३ रुपैयाँ बढी मुल्य लिएको देखिएको छ ।

विराटनगरकी मन्जुर अन्सारीको पनि पीडा सरदारसँग मिल्दोजुल्दो छ । अन्सारीले पनि बिरामी भएर विराट नर्सिङ होममा भर्ना भएका थिए । उनले पनि चिरञ्जीवी फार्मेसीबाट मेडिसिन लिए । ६ प्रकारको मेडिसिनमा परिमाण बढाएर ४१ हजार ४ सय ९१ रुपैयाँ ६२ पैसाँ चिरञ्जीवी फार्मेसीले बढी लिएको पाइएको छ । अन्सारीले ३३ प्रकारको सर्जिकल सामान १९ हजार २९४ रुपैयाँ ९६ पैसामा खरिद गर्दा ४ हजार ४ सय १४ रुपैयाँ २ पैसा बढी रकम चिरञ्जीवी फार्मेसीले लिएको भेटिएको छ ।

यसअघि विराटनगरको अस्पताल चोकमा दर्ता बिना नै सञ्चालनमा रहेको फार्मेसीले ग्राहकहरुलाई ठगी गरेको खुलेको थियो । गोल्डेन अस्पतालमा १८ दिन बसेका बिरामीलाई फार्मेसीले तीन लाख ५ हजारको औषधि उपलब्ध गराएको बिल थमाएको छ । सर्जिकल ग्लोब्स मात्रै ५५ हजारको बिल रहेको थियो ।

सिरहाको गोलबजार नगरपालिका–१३ का विन्देश्वर पासवानको उपचारका लागि औषधि खरिद गरेका उनका छोरा गरदीप पासवानलाई दर्ता विनाको फार्मेसी सञ्चालक शंकर यादवले ठगी गरेका थिए । बिरामी ठगी गरेको खुलेपछि औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले छापा हानेको थियो । तर, विभाग र प्रहरी आएको सुइँको पाएपछि बिरामी ठगी गर्ने यादव फरार भएका थिए ।

उल्लेखित घटना प्रतिनधीमूलक हुन् । अहिले चाँडै पैसा कमाउने धन्दामा लागेका केही फार्मेसीले बिरामीले लगेको औषधिको परिमाण बढाउने र सर्जिकल सामानमा बढी मुल्य हालेर बिरामीसँग ठगी गर्ने गरेको एकपछि अर्को गर्दै घटनाहरू बाहिर आउने गरेका छन् । औषधिजन्य वस्तुको अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभाग र बिरामीसँग बढी मुल्य लिएको जानकारी पाए अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय हो । तर, अनुगमनको जिम्मेवारी पाएको यी नियांमक निकायहरु नै मौन बसिदिदा ठगीधन्दा फस्टाएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल बताउँछन् ।

‘बजार अनुगमन गर्ने निकाय असार साउन भनेर अहिले सुतेको अवस्था छ । तर उपभोक्तालाई महिना हेरेर ठगी गर्दैनन्, ठगी गर्न पल्किएका जहिले पनि सक्रिय हुन्छन्,’ उनी भन्छन्, ‘नियमनकारी निकाय १२ महिना सक्रिय हुनुपर्दछ । बजार अनुगमनलाई कडाइ गरिनुपर्दछ ।’ उनी अहिले शिक्षा र स्वास्थ्यमा ब्रह्मलुट रहेको बताउँदैं जिल्ला प्रशासन कार्यालय मातहतका कार्यालयले बजार अनुगनलाई कडाइ गरेर कालोबजारी गर्नेलाई कारवाही गनुपर्नेमा जोड दिन्छन् । प्रशासन सक्रिय भएमात्रै उपभोक्ता ठगीबाट जोगिने उनको धारणा छ ।

नियांमक निकाय औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले बढी मुल्य लिएर ठगी गरेको घटना विभाग नहेर्ने भन्दैं पन्छिए । ‘बढी मुल्य लिएर ठगी गरेको घटना विभागले हेर्दैन्,’ उनले भने, ‘कालोबजारीतिर जाने भएकोले यो घटना प्रशासनले हेर्ने गर्दछ ।’ केही दिन भित्रमा बजार अनुगमनलाई पनि तिब्रता दिने उनले बताए । ‘अहिले जनशक्ति असार मसान्त भएकोले कारणले पनि भ्याएको छैन,’ उनले भने, ‘केही दिन भित्रमा बजार अनुगमन बढाउनेछौं ।’

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बिरामीलाई बढी मुल्य लिएर ठगी गरेको पाइए कारवाहीको दायरामा ल्याउने बताउँछन् । ‘तोकिएको मुल्यभन्दा बढी रकम लिन कसैले पनि पाउँदैन् । यदि बढी मुल्य लिएर ठगी गरेको पाइए कारवाहीको दायरामा ल्याउनेछौं,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ