२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नेत्र ज्योति संघ र डाक फाउन्डेशनबीच सम्झौता, ८ हजारको निःशुल्क शल्यक्रिया हुने

नेपाल नेत्र ज्योति संघ र डाक फाउन्डेशनबीच सम्झौता, ८ हजारको निःशुल्क शल्यक्रिया हुने


काठमाडौं—नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बीच आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र भएको छ । सम्झौतामा संघका तर्फबाट अध्यक्ष प्रा.डा. चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् ।

फाउन्डेशनले सन् २०२३ का लागि करिब ८ हजार आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट वन्चित नागरिकहरुको निःशुल्क आँखा उपचार गर्नेछ ।

संघ र फाउन्डेशनबीचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरता स्वरुप यो वर्षका लागि करिब ८ हजार बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो ।

संघका महासचिव भरतबहादुर चन्द आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउँछन् । उनी कोही पनि नागरिकहरुले आर्थिक अभावकै कारण दृष्टिविहिन भएर बस्नु नपरोस् भनेर संघले विभिन्न दातृ निकायसँगको सहकार्यमा दशैभरी निःशुल्क शिविरहरु संचालन गरिरहेको बताउँछन् ।

संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाह डाक फाउन्डेशनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरुको आँखा जाँच गरी ५२ हजार बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको बताउँछन् ।

अष्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट संचालन गरेको फाउन्डेशनले हाल विश्वका करिब १० देशका गरिबिको रेखामुनी रहेका नागरिकहरुलाई विभिन्न स्वास्थ सेवाहरु निःशुल्क रुपमा प्रवाह गर्न अनुदान दिइरहेको छ । फाउन्डेशनका संस्थापक डेभ रिकार्ड विश्वका ५ लाख मानिसलाई आँखाको ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ