२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक : स्वास्थ्यमन्त्री

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसकेको बताएका छन् । बिहीबार राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई बेलायतबाट भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोबाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधीको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहूँच पु¥याउन दत्तचित्त भएर लाग्नुपर्ने बेला आएको बताए ।

५५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहुँच पुगेको तथ्यांक प्रस्तुत गर्दै सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहुँच नपुगन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने मन्त्री बस्नेतले बताए । सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न पनि उत्तिकै जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई पनि साथसाथै अगाडि बढाउने मन्त्री बस्नेतले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउँदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने दावी गर्दै स्वास्थ्य मन्त्रालयले यसका विषयमा आवश्यक पहल गरिरहेकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले एक दिन मात्र नभएर वर्षैभरी डिजिटल स्वास्थ्य दिवस मनाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणालीमार्फत हुनुपर्नेमा जोड दिदैं एकद्वार प्रणाली पूर्ण रुपमा लागु भइनसेकाले मन्त्रालयका महाशाखा पिच्छे फरक—फरक तथ्यांक आउने समस्या रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा कार्यक्रम आयोजना गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ