२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा एनआईसीयु बन्दको साइट इफेक्ट: डुलाउँदा–डुलाउँदैमा जादैँछ नवजात शिशुको ज्यान

कोशीमा एनआईसीयु बन्दको साइट इफेक्ट: डुलाउँदा–डुलाउँदैमा जादैँछ नवजात शिशुको ज्यान

तीन जना मेसु फेरिए तर पनि संचालनमा छैन एनआईसीयु, एक वर्षदेखि एनआईसीयु संचालन नहुँदा बिरामी चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य


विराटनगर—२४ असारमा सुनसरीको कोशी गाउँपालिका–८ की सुस्मिता श्रेष्ठले विराटनगरस्थित कोशी अस्पतालमा नवजात शिशुलाई जन्म दिइन् । नवजात शिशुलाई इन्फेक्सन भएपछि श्वासप्रश्वासमा समस्या भयो । चिकित्सकले स्वास्थ्य जाँच गरेपछि नवजात शिशुलाई एनआईसीयुमा राखेर उपचार गरिनुपर्ने सुझाव दिए ।

आर्थिक अवस्था नाजुक भएको श्रेष्ठ परिवारले सस्तोमा उपचार हुने भएकोले कोशीमा बिरामी लिएर आएका थिए । तर, कोशी अस्पतालको एक वर्षदेखि एनआईसीयु बन्द छ ।

कोशीमा एनआईसीयु सेवा बन्द भएको कारण श्रेष्ठले चर्को शुल्क तिरेर निजी हस्पिटल नोबेल मेडिकल कलेजमा लिएर गए । उनले नोबेलको एनआईसीयूमा राखेर बच्चाको उपचार गर्दा दैनिक १५ हजार रुपैयाँ बुझाउनु परेको थियो । तीन दिनसम्म उनीसँग भएको पैसाले नोबेलको महंगो उपचार खर्च धाने ।

नोबेलमा उपचार खर्चले धान्न नसकेपछि श्रेष्ठले त्यहाँबाट रेफर लिएर स्वास्थ्य बिमा चल्ने हस्पिटलको खोजीमा भौतारिए । त्यसै क्रममा उनले विराटनगर—२ मा रहेको मोरङ सहकारीमा लिएर आए । एउटा शैय्या खाली थियो । नवजात शिशु मोरङ सहकारी हस्पिटलमा उपचार सुरू भएको एक घण्टापछि छोराको प्राण गयो । कोशीमा एनआईसीयु संचालनमा भएको भए दैनिक १ हजार रुपैयाँमा उपचार हुने गरेको थियो । जसका कारण सुस्मिता र उनका श्रीमानलाई एनआईसीयुमा राख्नुपर्ने नवजात शिशुलाई अस्पताल खोज्दैं दौडाउनु पर्दैन्थ्यो भने उपचारको श्रृखला ब्रेक नहुँदा तीन नवजात शिशुको ज्यान नजान सक्थ्यो ।

पूर्वी नेपालको सबैभन्दा ठूलो कोशी अस्पतालको स्त्री तथा प्रसुति विभागमा दैनिक नर्मल र अप्रेसन गरी २० देखि ३० जनासम्मको प्रसुति हुने गरेको छ । प्रसुति भएकामध्ये ५ देखि १० जनासम्म एनआईसीयुमा राखिनुपर्ने बिरामी हुने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

तर, सस्तो र भरपर्दो उपचार हुने भन्दै निम्न आय भएका बिरामी आउने कोशी हस्पिटलमा बन्द भएको एक वर्ष हुँदासमेत एनआईसीयु सेवा सुचारू गर्ने चासो प्रशासनले नदेखाउँँदा चर्को शुल्क तिरेर विरामी निजीमा जान बाध्य छन् । चर्को शुल्क बुझाएर उपचार गर्ने जान बाध्य भएपनि तत्काल एनआईसीयुमा राखेर उपचार गरिनुपर्ने नवजात शिशुलाई डुलाउँदा–डुलाउँदै बाटैमा प्राण पनि जाने गरेको छ । जसमध्ये एक प्रतिनिधी उदाहरण हो—सुस्मिताले जन्म दिएको नवजात शिशु ।

पूरानो बच्चा वार्डको स्टोरमा थन्किएका एनआईसीयुका उपकरणहरू ।

नयाँ भवन बनेर पेडियाट्रिक वार्ड सरेको एक वर्ष भइसक्दा पनि बन्द गरेको एनआईसीयु सेवा सुचारू नगर्दा बिरामीलाई सास्ती पाएका छन् । ठाउँ अभाव र दक्ष जनशक्ति नभएको देखाउँदैं कोशी अस्पताल प्रशासनले एक वर्ष अगाडिदेखि एनआईसीयुको उपकरणहरू स्टोरमा थन्काएर सेवा सुचारु नगर्दा बिरामीले चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य छन् ।

यस बीचमा कोशीमा तीन जना मेडिकल सुपरिटेन्टडेन्ट (मेसु) फेरिए । तत्कालीन मेसु डा. यज्ञराज खरेलको पालामा एनआईसीयु सेवा बन्द भयो । त्यसपछि डा. लक्ष्मीनारायण यादव र डा. रविराज सिंह मेसु भए । डा. सिंहको पालामा नयाँ भवनबाट संचालन गर्ने तयारी गर्दैगर्दा उनको ठाउँमा नयाँ मेसु बनेर डा. चन्द्रभाल झा आएका छन् ।

एक वर्षमा तीन जना मेसु फेरिए । अस्पतालको स्टोरमा थन्किएको एनआईसीयुको उपकरणमा माकुराको जालो फैलियो । तर, थन्किएको उपकरण जडान गरेर एनआईसीयु संचालनमा ल्याउने अस्पताल प्रशासनको ध्यान अझै गएको छैन । जसले गर्दा आर्थिक रूपमा विपन्न सामुदायका बिरामीले चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य भएर जानुपर्ने अवस्था रहेको छ ।

यसअघि पेडियाट्रिक वार्ड पूरानो भवनमा रहँदा पाँच शैय्याको एनआईसीयु सुचारु रहेको थियो । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रुपैयाँ लागतमा निर्माण भएको लिफ्टसहितको नयाँ भवनमा पेडियाट्रिक वार्ड सरेको एक वर्ष हुन लाग्दा पनि एनआईसीयु सुचारु हुन नसकेको हो ।

नयाँ भवनमा पेडियाट्रिक वार्डमा १६ साउन २०७९ मा सरेको थियो । अहिले उक्त वार्ड ३२ शैय्या छ । भेन्टिलेटर आवश्यकता पर्ने नवजात शिशुदेखि बालबालिकाहरूलाई एनआईसीयुमा राखेर उपचार गरिन्छ ।

एनआईसीयु सेवा सुरू गर्नको लागि तयारी गरिएको वार्ड ।

अस्पतालको एनआईसीयु सुचारु नहुँदा विपन्न परिवारका बिरामी समस्यामा परेको कानेपोखरी गाउँपालिका—६ का खगेन्द्र बराइलीले बताए । ‘पैसा हुनेले त निजीमा गएर उपचार गर्छन् । कोशीमा आउने विपन्न हुन्छन् । त्यसमाथि निजीमा उपचार गर्दा चर्को शुल्क तिर्नुपर्ने अवस्था छ,’ कोशी अस्पतालमा एनआईसीयुमा संचालन गर्नुपर्नेमा जोड दिंदै बराइलीले भने, ‘कोशीमा दिनको एक हजार रुपैयाँमा उपचार हुने रहेछ । निजीमा एनआईसीयुमा राखेर उपचार गर्दा दिनको ८ देखि १५ रुपैयाँसम्म तिर्नुपर्दो रहेछ ।’

बराइलीले एक वर्षकी छोरीलाई निमोनियाले ग्रस्त भएपछि कोशी हस्पिटल लिएर आएका थिए । यहाँका चिकित्सकले बिरामीको अवस्था हेरेपछि एनआईसीयुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिए । आर्थिक अवस्था नाजुक भएका बराइली परिवारले सस्तोमा उपचार हुने भएकोले कोशीमा बिरामी लिएर आएका थिए । तर, कोशी अस्पतालको एक वर्षदेखि एनआईसीयु बन्द छ । कोशीमा एनआईसीयू बन्द भएको कारणले बराइलीले चर्को शुल्क तिरेर निजीमा छोरीको उपचार गर्न बाध्य भएको सुनाए ।

कोशी अस्पतालका बच्चा विभागका प्रमुख डा. रामनारायण चौधरीले जनशक्ति अभावको कारणले एनआईसीयु संचालन नभएको बताए । ‘अहिले ज्वरो र इन्फेक्सन भएका बिरामी बालबालिकाहरू आउने गरेका छन्,’ डा. चौधरीले भने, ‘यहाँ उपचार हुनसक्ने बिरामीलाई वार्डमा राखेर उपचार गर्दै आएका छौं । गाह्रो भएका बिरामी र एनआईसीयुमा राखेर उपचार गर्ने गरेका बिरामीलाई एनआईसीयु भएका हस्पिटल लैजान सुझाव दिदैं आएका छौं ।’

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले पूरानो भवनबाट नयाँ ठाउँमा सारेर एनआईसीयु संचालनका लागि लागिपरेको बताए । ‘पूरानो आईसीयुमा एननआईसीयु संचालन गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘निर्माण कार्य पनि भइरहेको छ । थप जनशक्तिको व्यवस्थापन गरेर एनआईसीयु संचालन गर्ने तयारी छ ।’ चाँडैं एनआईसीयु संचालनमा आउने उनले दावी गरे ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ