२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११९ महिने शिशुको ज्यान गएपछि पनि विशेषज्ञ चिकित्सकको वोर्ड झुन्डाएर सीएमए र अहेबले गर्न छाडेनन् उपचार

१९ महिने शिशुको ज्यान गएपछि पनि विशेषज्ञ चिकित्सकको वोर्ड झुन्डाएर सीएमए र अहेबले गर्न छाडेनन् उपचार

स्वास्थ्यमा गम्भीर लापरवाही, अनुगमन टोलीलाई दुई घण्टा थुने


विराटनगर—६ जेठमा सुनसरीको इनरुवा नगरपालिका–४ का १९ महिनाका नितेस मेहता बिरामी भएपछि उनका अभिभावकले इननरुवा—४ हस्पिटल रोडमा रहेको साएमा पोलिक्लिनिकमा देखाउन लिएर आए । पोलोक्लिनिकमा नाम चलेको विशेषज्ञ चिकित्सकहरूको वोर्ड झुन्डिएको देखेपछि राम्रो उपचार सेवा पाउने अभिलासाले गोमीदेवी मेहताले छोरालाई लिएर आएकी थिइन् ।

विशेषज्ञ चिकित्सकले छोरालाई उपचार गर्दैछन् भन्ने विश्वासमा गोमीदेवी थिइन् । छोरा ठिक हुनुको साटो पीडा बढी हुन थाल्यो, छटपटी बढ्यो । पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि नितेसलाई नजिकैको जिल्ला अस्पतालमा रेफर गरियो । रेफर गरेको केहीबेरमा उनको मृत्यु भयो ।

पछि बुझ्दै जाँदा पोलिक्लिनिकमा सीएमएले स्वास्थ्य उपचार गरेको पाइयो । त्यसपछि लापरवाहीपूर्ण उपचार गरेको पाइएपछि स्वास्थ्य कार्यालयले साएमा पोलिक्लिनिकको दर्ता खारेजीबाहेक अरु कुनै कारवाही गरेन् । पोलिक्लनिकका संचालक साएमा आलमले पीडितलाई क्षतिपूर्ति भन्दै केही रकम दिएपछि लापरवाहीपूर्ण घटना सामसुम भएको थियो । अहिले आलमले पोलिक्लिनिकको नाम हटाएर साएमा फार्मेसी चलाउँदै आएका छन् ।

सुनसरी इनरुवाकी ७६ वर्षीया सन्ध्या देवी रामलाई पेटको समस्या भएपछि इनरुवा हस्पिटल लाइनमा भएको ठाकुर फार्मेसीमा पुगिन् । सोमबार त्यहाँ नोबेल मेडिकल कलेजका सुगर, पे्रसर तथा छाती रोग विशेषज्ञ डा. प्रमद अन्सारीको वोर्ड झुन्डाइएको थियो । विशेषज्ञ चिकित्सकको वोर्ड देखेर उनी ढुक्क भएर गइन् । पूर्जी काटेर विशेषज्ञ चिकित्सक भनेर उनले देखाइन् । तर, चिकित्सक नभएर फार्मेसी व्यवसायी रहेको अनुगमन टोलीले भेटेको थियो । पछि बुझ्दै जाँदा ठाकुर फार्मेसीले सामुदायिक पोलिक्लिनिक संचालन गरेको पाइएको छ । फार्मेसीको सिफारिस लिएर पोक्लिनिक संचालन गरेर बिरामीलाई ठगी गर्दै आएको सोमबार गरेको अनुगमनको क्रममा भेटिएको हो । स्वीकृत नलिइकनै संचालन गरेको पोलिक्लिनिकबाट बिरामीलाई निकालेर अनुगमन टोलीले जिल्ला अस्पताल सुनसरीमा उपचारको लागि पठाएको छ ।

स्वास्थ्य क्षेत्रमा विकृती व्यापक देखिएपछि गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई सोमबार अनुगमन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा इनरुवाको हस्पिटल रोडमा रहेको फार्मेसी, पोलिक्लिनिक, मेडिकल हलहरुको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा पोलिक्लिनिक, मेडिकल हल र फार्मेसीहरूले बिरामी ठगी मात्र नगरेर स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको अनुगमन टोलीको सदस्य जिल्ला अस्पताल इनरुवाका मेसु डा. देवराज घिमिरेले बताए । ‘सुनसरीको इनरुवाको हस्पिटल रोडमा रहेको एक दर्जन पोलिक्लिनिक र फार्मेसीहरू अनुगमन गरिएको थियो । त्यस क्रममा व्यापक रुपमा बेथिती रहेको भेटियो,’ उनले भने, ‘फार्मेसीको स्वीकृत लिने पोलिक्लिनिक संचालन गरेको भेटिएको छ । पोलिक्लिनिक भनेर वोर्डमा विशेषज्ञ चिकित्सक राखिएको छ तर उपचार सीएमए र अहेबले गरेको पाइएको छ ।’

यसरी खुलेआम बिरामीलाई फार्मेसी र पोलिक्लिनीहरुले ठगी मात्र नगरेर उपचारका लागि आएका बिरामीको स्वास्थ्यमाथि पनि गम्भीर खेलवाड गरेको पाइएको छ ।

हस्पिटल लाइनमा रहेको इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताका श्रीमान योगेन्द्र मेहताले संचालन गरेको नेशनल मेडिकलले सीएमए राखेर उपचार गर्ने गरेको पाइएको छ । विशेषज्ञ चिकित्सकको वोर्ड झुन्डाएर नेशनल मेडिकलमा सीएमए तारणी यादवले उपचार गर्ने गरेको पाइएको छ । यादव सप्तरीको रुपनी स्वास्थ्य चौकीमा कार्यरत रहेको सीएमए हुन् ।

पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकबाहेक अरुले स्वास्थ्य जाँच गर्न नपाउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए । ‘फार्मेसीले औषधी व्यवस्था विभागबाट स्वीकृत लिनुपर्ने हुन्छ भने पोलिक्लिनिकले स्वास्थ्य कार्यालयबाट लिनुपर्छ,’ उनले भने, ‘पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकले मात्र स्वास्थ्य जाँच गर्ने हो । थप उपचार गर्नुपर्ने अवस्था आए सम्बन्धन प्राप्त गरेको अस्पतालमा रेफर गरेर उपचार गर्नुपर्ने हुन्छ ।’

तर, च्याउसरी खुलेको इनरुवाको पोलिक्लिनिक र फार्मेसीले विशेषज्ञ चिकित्सकको वोर्ड झुन्डाएर सीएमए, अहेब र फर्मासिस्टबाट उपचार गरेर बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरेको अनुगमनको क्रममा भेटिएको हो । ‘१३ वटा फार्मेसी र पोलिक्लिनिक र मेडिकल हलहरु अनुगमन गरियो,’ प्रसाईले भने, ‘धेरैलाई मापदण्ड पूरा गरी प्रक्रियामा ल्याएर संचालन गर्न हामीले निर्देशन दिएका छौं ।’ मापदण्ड र नीति नियम बेगर संचालन गरेको पोलिक्लिनिक र मेडिकल हललले अटेरी गरे कारवाहीको दायरामा ल्याउने उनले बताए ।

अनुगमन आएका सरकारी टोलीलाई दुई घण्टा थुने

इनरुवामा रहेका मेडिकलहरूको अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको टोलीलाई मेडिकल व्यवसायीहरूले दुई घण्टा थुनेका छन् । स्वास्थ्य क्षेत्रमा चरम बेथिती देखा परेपछि अनुगमनमा पुगेको टोलीलाई सोमबार व्यवसायीहरुले दुई घण्टा थुनेका हुन् ।

अनुगमनका क्रममा कागजपत्र चेकजाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हलभित्रै थुनेका थिए । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुनिएको थियो ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेलगायत रहेका थिए ।

टोलीले इनरुवा नगरपालिकाका उपमेयर विनिता मेहताको मेडिकलमा समेत चेक जाँच गरेको थियो । चेक जाँचका क्रममा उपमेयरका श्रीमान योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उपमेयरका श्रीमान योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई थुनेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडाले बताए ।

टोलीले नुरुव फार्मेसी, शशी मेडिकल, साएमा फार्मेसी, कोशी डिजिटल एक्सरे, इमेज मेडिकल हल, दिपशिखा फार्मेसी, अल्का फार्मेसी, ठाकुर फार्मेसीको अनुगमनको गरेको थियो । यस्तै, नुतन ल्याब, जनसेवा फार्मेसी, हिमाल आई केयर सेन्टर, रिमा मेडिकल हल र नेसन मेडिकल हलको अनुगमन गरेको थियो ।
यता व्यवसायी मेहताले भने अनावश्यक रुपमा अनुगमन टोलीले प्रश्न गरेको र पूर्वाग्राही भएर प्रस्तुत भएकाले व्यवसायीहरुले विरोध गरेको बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ