२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरमा थप ३ शैय्यासहित संचालनमा आयो भीआईपी कक्ष

वीरमा थप ३ शैय्यासहित संचालनमा आयो भीआईपी कक्ष

स्वास्थ्यमन्त्री भन्छन्, ‘उपचारका लागि अब कसैले पनि विदेश जानु पर्दैन्’


काठमाडौं—वीर अस्पतालले विशिष्ट व्यक्तिहरु (भीआईपी)का लागि थप शैय्या र सुविधासहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालनमा ल्याएको छ । मंगलबारबाट वीर अस्पतालको तीन शैय्या थप गरेर भीआईपी र भीभीआईपी कक्ष संचालनमा ल्याइएको हो ।

पुरानो भवनमा पहिलेदेखि नै रहेको भीआईपी र भीभीआईपीका लागि दुई शैया छुट्याइएको थियो । नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल पाँच शैय्या भीआईपी र भीभीआईपीका लागि सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेपछि उक्त कक्ष सञ्चालनमा आएको हो ।

स्वास्थ्य मन्त्री बस्नेतले भीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआईपी र भीभीआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए । सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र भीआईपी तथा भीभीआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको दावी छ ।

‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्सीय विशेषज्ञ चिकित्सकको टीम बनाएका छौं। त्यही टीमले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन,’ मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिदैं भने ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले पूरानो भवनमा २ र नयाँ सर्जिकल भवनमा ३ शैय्या थप गरेर ५ शैय्याको भीआईपी तथा भीभीआईपी कक्ष सञ्चालनमा आएपछि उपचारका लागि विदेश जाने चलन कम हुने बताए । बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालन गरेपछि अहिले धेरै बिरामीले वीर अस्पतालमा सहज रुपमा सेवा पाइरहेको डा. पौडेलले बताए । स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनपछि विहान ९ बजेपछि सुरु हुने ओपिडी सेवा बिहान ८ बजेदेखि नै सुरु गरिएको छ ।

१५ सदस्सीय विशेषज्ञ टिम

भीआईपी र भीभीआईपीहरुको उपचारका लागि १५ सदस्सीय टिम बनाइएको छ । जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी, डा. रमेश चोखानी रहेका छन् ।

उपकुलपति डा. बस्नेतले पहिले पनि भीआईपी र भीभीआईपी उपचारका लागि ओपीडीमा आउने गरेको जानकारी दिदैं केही समय यता भर्ना नै हुने गरी कोही नभएको तर अब सुविधासम्पन्न भएपछि उपचारका लागि आउने विश्वास व्यक्त गरे । उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथी सत्कार कक्ष, आगन्तुक प्रतिक्षालयसहित किचेन समेतको सुविधा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ