२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटमा दुर्लभ शल्यक्रियाः खानाको नली नबनेको नवजात शिशुको सफल उपचार

विराटमा दुर्लभ शल्यक्रियाः खानाको नली नबनेको नवजात शिशुको सफल उपचार


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया गरिएको छ । जन्मँदै खानाको नली नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो ।

विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्यचिकित्सक डा. हिरामणी पाठक नेतृत्वको डा. वात्सल्य अज्र्याल, डा. रक्षा संग्रौला, डा. दिपराज उपाध्याय र डा. सोनिया दाहालको चिकित्सक टिमले खानाको नली नबनेको नवजात शिशुको सफल शल्यक्रिया गरेकोे हो । यस्तो प्रकृतिको समस्या पाँच हजारमा १ जनामा देखिने गरेको चिकित्सक बताउँछन् ।

उदयपुरको बेलका नगरपालिका—६ की सम्झना राई ५ साउनमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञानज प्रतिष्ठानमा प्रसुति सेवा लिएकी थिइन् । त्यहाँ भेन्टिलेरसहितको एनआईसीयू नपाएपछि नवजात शिशुका बुवा मणीराज मगरले ५ साउनमा ४ः१५ बजे विराट नर्सिङ होममा लिएर आए । हस्पिटल ल्याउँदा नवजात शिशुको अवस्था नाजुक रहेको थियो ।

बाल शल्यचिकित्सक डा. पाठक नेतृत्वको टोलीले नवजात शिशुको खानाको नली नबनेकोले शल्यक्रिया गरी तल्लो खानाको नली श्वासको नलीबाट छुटाएर माथिको पूरा नबनेको खानाको नलीसँग जोडेको हो । ‘एक घण्टा बढी समय लागेर सफल शल्यक्रिया भयो,’ डा. पाठकले भने, ‘यस प्रकारको समस्या अन्यन्तै दुर्लभ हो । यो जटिल अवस्थामा हुने भएको कारणले हस्पिटल आएको आधा घण्टाभित्र अप्रेसन थियटरमा नवजात शिशुलाई लगेर शल्यक्रिया गरिएको हो ।’

विशेषज्ञ चिकित्सकबाट तत्कालै उपचार नपाए यस्तो नवजात शिशुलाई जोगाउन गाह्रो हुने उनले बताए । ‘खानाको नली नबनेको नवजात शिशुको विराटमा अहिलेसम्म गरिएको पहिलो शल्यक्रिया हो,’ उनले भने, ‘सफल शल्यक्रिया गरेर नवजात शिशुलाई बचाउन सकिएको छ ।’ एक हप्ता अस्पतालमा राखेर उपचारपछि शिशुलाई बिहीबार डिस्चार्ज दिइएको छ । शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको डा पाठकले बताए ।

‘नवजात शिशुमा समस्या थियो, खानाको नली बनेको थिएन । खानाको नली नबनेकोले शल्यक्रिया गरी तल्लो खानाको नली श्वास नलीसँग जोडिएको छ । यो जटिल अप्रेसन हो । यो सुष्म तरिकाले अप्रेसन गर्नुपर्ने हुन्छ । चिकित्सकको टिमले त्यहीअनुसार सफल शल्यक्रिया गरिएको छ,’ डा. पाठकले भने ।

नवजात शिशुको जटिल र दुर्लभ शल्यक्रिया गरिएको जानकारी दिदैं विराट नर्सिङ होमका चिकित्सकको टिम ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भएपनि विज्ञ बाल शल्यचिकित्सक विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । ‘अब विराट मेडिकल कलेजमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन,’ उनले भने ।

मगर दम्पतीको दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएका थिए । उपचारपछि डिस्चार्जको तयारीमा रहेका नवजात शिशुका बुवा मणीराज मगरले छोरीलाई बचाउन उपचारमा खटिने चिकित्सकको टिमलाई धन्यावद दिए । ‘धरानबाट विराटनगरको अन्य हस्पिटल पनि गएर गए । त्यहाँ उपचार नहुने भएपछि विराट नर्सिङ होममा लिएर आएको थिए । यहाँ ल्याएपछि सफल उपचार पनि भयो र छोरीलाई बचाउनु हुने चकित्सकको टिमलाई धन्यावाद व्यक्त गर्दछु,’ उनले भने ।

नवजात शिशुको उपचारबारेमा जानकारी दिदैं बाल शल्यचिकित्सक डा. पाठक ।

६ महिनामा १५० जना नवजात शिशु र बालवालिकाको शल्यक्रिया

विराट मेडिकल कलेज र विराट नर्सिङ होममा ६ महिनाको अवधिमा नवजात शिशु र बालवालिकाहरुको १ सय ५० भन्दा बढीको सफल शल्यक्रिया भएको छ । उपचारमा संलग्न बाल शल्यचिकित्सक डा. हिरामणी पाठकका अनुसार शल्यक्रिया गरिएकामध्ये २६ वटा नवजात शिशु र बाँकी बालवालिकाहरु रहेका छन् ।

‘अहिले नवजात शिशुमा गरिएको शल्यक्रियामध्ये पनि एक दिनको नवजात शिशुको जटिल र दुर्लभ शल्यक्रिया हो,’ उनले भने, ‘यसअघि पनि नवजात शिशुमा मलद्धार नभएको, आन्द्रा फुटेको, टिभीलगायतका नवजात र बालवालिकाहरुको शल्यक्रिया गरिएको छ ।’

उनले अब शल्यक्रिया गरिनुपर्ने नवजात शिशु काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको पनि सुनाए । ‘शल्यक्रिया गरिनुपर्ने नवजात शिशु लिएर काठमाडौं जानुपर्ने अवस्थाको अब अन्त्य भएको छ,’ उनले भने, ‘नवजात शिशुको पनि शल्यक्रिया अब विराटनगरमा हुन्छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ