२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीको अक्सिजन प्लान्ट बिग्रियो : मर्मतको साटो निजीबाट मासिक ५ लाखको अक्सिजन किनिदैं

कोशीको अक्सिजन प्लान्ट बिग्रियो : मर्मतको साटो निजीबाट मासिक ५ लाखको अक्सिजन किनिदैं

दैनिक सय सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट नबनाउँदा वार्षिक ६० लाख कोशी अस्पताललाई खर्च थपियो


विराटनगर—पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल विराटनगरस्थित कोशी अस्पतालका दुई ठूला अक्सिजन प्लान्ट बिग्रिएको एक वर्ष बितिसक्दा पनि बनाएर संचालन गर्नुको साटो अस्पताल प्रशासनले निजी क्षेत्रबाट मासिक लाखौं रुपैयाँको अक्सिजन खरिद गरेर ल्याउने गरेको पाइएको छ ।

अस्पताललाई आवश्यक पर्नेभन्दा बढी उत्पादन हुने अक्सिजन प्लान्ट बिग्रिएर थन्किएको एक वर्ष बितिसक्दा पनि प्रशासनले बनाउनुको साटो ठेक्का लगाएर प्रतिकेजी ३९ रुपैयाँले दैनिक १५ हजार केजी मासिक ५ लाख ४८ हजार रुपैयाँको अक्सिजन निजी क्षेत्रबाट खरिद गरेर ल्याउने गरेको पाइएको हो ।

नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनले १ करोड ७ लाख रुपैयाँ लागतमा कोभिड—१९ को बेला कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट बनाइदिएको थियो । उक्त १५ असोज २०७८ मा निर्माण सम्पन्न भएको उक्त अक्सिजन प्लान्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटन गरेका थिए ।

करिब एक वर्ष बढी संचालन भएपछि अक्सिजन प्लान्टको सामान्य तार बिग्रिएको हो । दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन हुने उक्त प्लान्ट २०७९ जेठ अन्तिम साता बिग्रिएको थियो । कोशीको सर्जिकल भवन निमार्णको क्रममा तार काटिएर ग्यास प्लान्ट बिग्रिएको अस्पतालका टेक्निसियन बताउँछन् । तार ल्याएर जडान गरेपछि संचालनमा आउने प्लान्ट नबनाएर ठेक्कामार्फत निजी क्षेत्रबाट अक्सिजन खरिद गरेर अस्पताललाई लाखौं रुपैयाँ व्यभार थप्न प्रशासन लागि परेको छ ।

३ सय ५० शैय्याको कोशी अस्पतालमा दैनिक ४ देखि ५ सय रुपैयाँ केजी अक्सिजन खपत हुने गरेको छ । गत जेठ महिनामा मासिक १५ हजार केजी अक्सिजन खपत भएको अस्पतालको अभिलेखमा देखिन्छ । ३९ रुपैयाँ प्रतिकेजीले शंकर अक्सिजन ग्यास काठमाडौंले ठेक्का पाएको छ । शंकर अक्सिजनले कोशी अस्पतालमा आवश्यक पर्ने लिक्वीइड ग्यास ल्याउने गरेको छ ।

अस्पतालको अहिले सर्जिकल भवन बन्दैछ । भवन निर्माणको क्रममा अक्सिजन सप्लाई हुने तार काटिएको थियो । तार काटिएको एक वर्ष बितिसक्दा पनि अस्पताल प्रशासनले जडान गरी संचालन गर्नुको साटो ठेक्का लगाएर निजी क्षेत्रबाट अक्सिजन खरिद गरिरहेको छ । यसरी मासिक ५ लाख बढीको अक्सिजन खरिद गर्दा अस्पताललाई वार्षिक करिब ६० लाख रुपैयाँ व्यभार थपिने देखिन्छ । ‘निर्माणको क्रममा अक्सिजनको तार काटिएर अहिले बिग्रिएको हो । पाइप बिछ्याएर तार जोडिए पहिला जस्तै गरी शैय्याहरुमा अक्सिजन सप्लाई हुने थियो । तर, अस्पताल प्रशासनले मर्मतमा ध्यान नदिएर निजी क्षेत्रबाट अक्सिजन खरिदमा लागि परेको देखिन्छ,’ अस्पतालका एक जना कर्मचारीले भने ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ट (मेसु) डा. चन्द्रभाल झाले नयाँ भवन निर्माणको क्रममा अक्सिजन प्लान्टको तार काटिएकाले बनाउन लागि परेको बताए । ‘अक्सिजन प्लान्टको तार काटिएपछि ग्यास सप्लाइमा समस्या आएको थियो,’ उनले भने, ‘निर्माण भइरहेको छ । केही दिनभित्रमा अक्सिजन प्लान्टबाटै अक्सिजन उत्पादन भई सप्लाई हुनेछ । प्लान्ट संचालनमा आएपछि बाहिरबाट अक्सिजन मगाउन बन्द हुने उनले बताए ।

कोशीको अक्सिजन प्लान्टबाट उत्पादन हुने एउटा सिलिण्डर ४८ केजीको हुने गरेको छ । अक्सिजन प्लान्टदेखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्षदेखि पूर्वपट्टी रहेको मेन लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको थियो । त्यसपछि आकस्मिक, अर्थो, कोभिड वार्ड, आईसीयु, मेडिकल र जनरल वार्डमा अक्सिजन जाने सिस्टमको विकास गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ