२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डा.कर्णले पाँच लाख रुपैयाँमा निःसन्तान दम्पत्तिलाई नवजात शिशु बेचेको खुलासा

डा.कर्णले पाँच लाख रुपैयाँमा निःसन्तान दम्पत्तिलाई नवजात शिशु बेचेको खुलासा


विराटनगर-कोशी अस्पतालका पूर्व मेसु तथा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले एक दिनको नवजात शिशु मोटो रकम लिएर निःसन्तान दम्पत्तिलाई बचेको खुलासा भएको छ । अविवाहित जोडीबाट विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु डा. कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

डा. कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोरा सुर्यनारायण राजवंशी दम्पत्तिको सन्तान भएको थिएन् । सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि नवजात शिशु लिन सात लाख रुपैयाँ खर्चेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘डाक्टर कर्णले पाँच लाख रूपैयाँ लिएका छन् । दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिमायाले प्रहरीलाई बयानमा बताएकी छिन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

१३ असारमा अविवाहित जोडीबाट ग्रीनक्रस हस्पिटलमा छोरीलाई जन्म भएपछि नवजात शिशुलाई एनआईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो ।

नवजात शिशु लिएर राजवंशी दम्पत्तिले विराट नर्सिङ होममा लिएर गएका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । नवजात शिशु लिने र बेच्ने डाक्टलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको एसपी दीपक पोखरेलले बताए । ‘डाक्टर कर्णले अरु पनि नवजात शिशु बचेको घटना आइरहेको छ,’ उनले भने, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं । कति नवजात शिशुहरु डाक्टर कर्णले बचेका छन् । त्यो पनि अनुसन्धान गर्दैछौं ।’

डा. कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पत्तिलाई उपलब्ध गराउँदै आएको हस्पिटलका केही चिकित्सकहरुले बताउने गरेका छन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ । डा. कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पत्तिलाई बिक्री गर्ने देखिएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । नर्सस्तरका केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

गत शुक्रबार अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशु बेपत्ता पारेपछि प्रहरीले कर्णसहति दुई जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गर्दै आएको छ । प्रहरीले कर्णलाई पक्राउ गरेपछि गत शुक्रबारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मंलबार दिउँसो डिस्चार्ज दिएपछि प्रहरीले अनुसन्धान गर्दा हराएको नवजात शिशु फेला परेको हो ।

उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै कर्ण कोशी अस्पतालको जनरल वार्डको सिङ्गल क्याबिन २१२ नम्बरमा बसेका थिए । पक्राउ परेका कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

के हो घटना ?

पक्राउ परेका राई २६ वर्षीय किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रीनक्रस हस्पिटलमा प्रसुति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए ।

उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ । कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसुति गराएका थिए ।

उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि डा. कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।

ती युवतीले ग्रिनक्रस अस्पतालमा ९ सय ५० ग्रामको स्वस्थ शिशुलाई जन्म दिएको भनिएको थियो । प्रराम्भिक अनुसन्धानबाट एक केजीभन्दा बढी तौल भएको शिशु जन्म भएको खुलेको छ । त्यो शिशु जन्मिने क्रममा डा. कर्णको संलग्नता रहेको र शिशुको बन्दोबस्तीका लागि बाबु गोविन्दबाट रकम लिएको पुष्टी भएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ