२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नवजात शिशु बेचेको घटनामा दुई नर्ससहित थप चार जना पक्राउ

नवजात शिशु बेचेको घटनामा दुई नर्ससहित थप चार जना पक्राउ


विराटनगर—विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु बेचेको घटनामा संलग्न थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका नर्स र पाँच लाखमा शिशु बेच्ने डा. तपेश्वरलाल कर्णका सहयोगी नर्स रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया नर्स सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया निर्मला यादवलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमध्ये डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । डा. कर्णले ग्रीनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधामार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने निःसन्तान राजवंशी दम्पत्ति सुधाका नातेदार रहेको पाइएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति वेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. कर्णले अविवाहित जोडीबाट विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु पाँच लाख रुपैयाँ लिएर बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोरा–बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । १३ असारमा अविवाहित महिलाले ग्रीनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डा. कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ