२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगा आँखा अस्पतालमा ‘शापु’का बिरामी बढे

तिलगंगा आँखा अस्पतालमा ‘शापु’का बिरामी बढे


काठमाडौं– केही दिनयता नेपालमा आँखामा लाग्ने रोग ‘शापु’ (मौसमी इन्डोफ्थालमिटिस)को महामारी बढ्दै गएको पाइएको छ । गत भदौको तेस्रो सातादेखि शापु संक्रमण तिव्र रुपमा फैलिएको तिलगंगा प्रतिष्ठानले जनाएको छ ।

अधिकांश रुपमा बालबालिकालाई लाग्ने शापु  डरलाग्दो हो । यो किटाणु कुन माध्यमबाट आँखाभित्र संक्रमण हुन्छ भन्ने कुराको यकिन नभएता पनि रातको समयमा बत्तिमा आउने एक किसिमको सेतो पुतली (मथ) बाट संक्रमण हुने पुष्टि भएको छ ।

चिकित्सकका अनुसार एक वर्षको अन्तरमा देखिने शापु संक्रमण प्रायजसो भदौदेखि मंसिर महिनासम्म महामारीको रुपमा देखा पर्ने गरेको छ । यस वर्ष भदौको तेस्रो सातादेखि अहिलेसम्म १६ जना बालबालिका तथा १० जना वयष्क संक्रमित भई उपचारका क्रममा रहेको प्रतिष्ठानले जनाएको छ ।

युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार अहिले लगभग ४० प्रतिशतको आँखामा किटाणुको संक्रमण पाइएको छ । उनी भन्छिन्–‘शापु संक्रमण भएको आँखाको भित्रि भागहरुमा पाक्ने तथा आँखा भित्र पीप भरिन्छ । यो रोगको निदान छिटो भन्दा छिटो भई शल्यक्रिया गरिएमा आँखाको ज्योति पूर्ण अथवा आंशिक रुपमा फर्किन्छ । तर निदान तथा उपचार ढिलो भएमा ज्योति गुम्नुको साथै आँखा नै सुकेर जान सक्छ ।’

यो रोगको लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टा भित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने तथ्यांकले पुष्टि गरेको छ । आँखामा शापु संक्रमणको लक्षण देखिए छिटोभन्दा छिटो आँखा उपचार केन्द्रमा जान र आफुखुशी कुनै पनि आँखाको औषधी तथा जडिबुटि प्रयोग नगर्न डा. मानन्धरले आग्रह गरेकी छन् ।

शापुका लक्षणहरु के हुन् ?

  • एउटा आँखा अचानक रातो हुनु ।
  • उज्यालोमा हेर्न गाह्रो हुनु ।
  • आँखाको कालो भागको बीच भागमा सेतो देखिनु र अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुँदै जानु ।
  • दुखाई त्यति धेरै नहुनु ।
  • झ्वाट्ट हेर्दा साधारण आँखा पाक्ने रोग जस्तो देखिएता पनि चिप्प्रा पटक्कै नआउनु ।

बच्ने उपायहरु

  • बत्तिमा आउने पुतलीको सम्र्पकबाट बालबालिकाहरुलाई टाढा राख्ने ।
  • घर वरिपरि सेतो बत्तिको प्रयोग कम गर्ने ।
  • साँझ र राती झ्याल ढोका बन्द गर्ने ।
  • सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने ।
  • सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झूललभित्र मात्र सुत्ने ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ