२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको सुशासनः कसैलाई तीन/तीन जिम्मेवारी कसैलाई दुई वर्षदेखि फाजिलमा

स्वास्थ्य मन्त्रालयको सुशासनः कसैलाई तीन/तीन जिम्मेवारी कसैलाई दुई वर्षदेखि फाजिलमा


काठमाडौं—सुशासनका गफ दिएर नथाक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीहरुलाई पहुँचका आधारमा जिम्मेवारी दिएका छन् । सुशासन र सिष्टमको खिल्ली उडाउँदैं मन्त्री बस्नेतले ११ औं तहका चिकित्सकलाई ९/१० औं तहको प्रमुख हुने ठाउँमा जिम्मेवारी दिएका हुन् ।

अझ त्यो पनि एउटा–दुई वटा जिम्मेवारी होइन तीन—तीन जिम्मेवारी छन् । तर, कतिपय ११ औं तहकाका अधिकारीहरुलाई महिनौदेखि फाजिल बनाएर राखेका छन् ।

११ औं तहका केही अधिकारीलाई दुई वर्षदेखि फाजिल (मन्त्रालयका कर्मचारीको भाषामा बार्दली)मा हुँदा मन्त्री बस्नेतले केन्द्रीय कारागार अस्पतालका निर्देशक डा. प्रकाश बुढाथोकीलाई मन्त्रालयको प्रवक्ता र संगठन संरचनामा ९/१० औं तहले नेतृत्व गर्ने स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (एचईओसी)को जिम्मेवारी पनि थपिदिएका छन् ।

यता मन्त्रालयले ११ औं तहकै दुई जना अधिकारीलाई भने फाजिलमा राखेर हाजिर मात्र गराइहेको छ । ११ औं तहका डा. यदुचन्द्र घिमिरे गत जेठबाट मन्त्रालयमा हाजिर मात्र गरेर दिन कटाइरहेका छन् भने स्वास्थ्य शिक्षा प्रशासक डा. राधिका थपलिया २ वर्षदेखि स्वास्थ्य सेवा विभागमा हाजिर मात्र गरेर बसेकी छन् ।

‘कोही दुई वर्षदेखि फाजिलमा छन्, उहाँहरुको व्यवस्थापन हुन सकेको छैन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘कसैलाई भने दोहोरो मात्र नभएर तेहेरो जिम्मेवारी छ ।’

११ औं तह मात्र होइन् मन्त्रालमा दरबन्दी मिल्ने कर्मचारीलाई फाजिलमा राखेर शाखाहरुमा नेतृत्वविहिन बनाइएको छ । जनसंख्या व्यवस्थापन शाखा एक महिनादेखि खाली छ । तथ्यांक उपसचिव मुक्ति खनाललाई दरबन्दी विभागमा राखेर मन्त्रालयमा हाजिर गराइएको छ तर उनलाई मन्त्रीले एक महिनादेखि कुनै जिम्मेवारी दिएका छैनन् ।

विभागमा एउटा मात्र रहेको तथ्यांक उपसचिवको दरबन्दीमा भने खनाल र अर्का उपसचिव कपिल तिमल्सिनालाई पनि छन् । तिमल्सिना भने यसअघि खनाल प्रमुख भएको एकीकृत विद्युतीय सूचना व्यवस्था शाखाको प्रमुख जिम्मेवारीमा छन् ।

तहअनुसार जिम्मेवारी नभएको विषयमा जिज्ञासा राख्न स्वास्थ्य मन्त्रालयकी प्रशासन सचिव देवकुमारी गुरागाईसँग पटक—पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ