२०८१ वैशाख ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. आचार्यको पक्षमा कूटनीतिक पहल बढाउन सरकारलाई आग्रह

डा. आचार्यको पक्षमा कूटनीतिक पहल बढाउन सरकारलाई आग्रह


काठमाडौं– डाक्टर शम्भु आचार्यलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को दक्षिणपूर्वी एशिया कार्यालयको क्षेत्रीय निर्देशकमा निर्वाचित गराउनका लागि सम्बन्धित देशमा कूटनीतिक पहल बढाउन सरकारलाई नागरिक समाजका अगुवाहरूले आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय (सेरो)को निर्देशकमा   नेपालका उम्मेदवार डा. आचार्यको पक्षमा कूटनीतिक पहल बढाउन सरकारसमक्ष सरोकारवालाले आग्रह गरेका हुन् ।

डा. आचार्यका पक्षमा पूर्व मन्त्री तथा राजदूत अम्ब नीलाम्बर आचार्य, संयुक्त राष्ट्र सङ्घका पूर्व उपमहासचिव डा. कुल चन्द्र गौतम, स्वास्थ्यविद् डा.रिता थापा, डब्लूएफपीका पूर्व कन्ट्री रिप्रेजेन्टेटिभ विश्व पराजुली लगायत पूर्व राजदूत, कूटनीतिज्ञ तथा  स्वास्थ्य विज्ञहरूले सरकारलाई  ध्यानाकर्षण गराएका छन् ।

नेपाल सरकारले उच्च योग्यता भएका उम्मेदवार डा। आचार्यलाई यस महत्त्वपूर्ण पदका लागि मनोनयन गरेको भन्दै दक्षिण पूर्वी एशिया क्षेत्रमा लाखौंको भविष्यको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्ने उनीहरूले विश्वास गरेका छन् ।

डा.आचार्यसँग सार्वजनिक स्वास्थ्य पृष्ठभूमि बलियो रहेको र विश्वव्यापी स्वास्थ्य समस्याहरूको सामना गर्न व्यापक नेतृत्व गर्न सक्ने क्षमता रहेको सरोकारवालाहरू बताउँछन् ।

डा. आचार्यले जनस्वास्थ्यमा पिएचडी, स्वास्थ्य नीति र विश्वव्यापी रूपमा प्रसिद्ध विश्वविद्यालयबाट योजनामा विशेषज्ञता हासिल गरेका छन् । सार्वजनिक वित्त र रणनीतिक व्यवस्थापनमा एमबिए गरेका उनी सामाजिक नीति र समाजशास्त्रका प्राध्यापक पनि हुन् ।

उनले संयुक्त राष्ट्र सङ्घको फराकिलो विकास एजेन्डा भित्र विश्वव्यापी स्वास्थ्य कभरेजको वकालत गर्ने विभिन्न संयुक्त राष्ट्र निकायहरूमा डब्लूएचओको प्रतिनिधित्व गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ