काठमाडौं– नेपाल औषधी उत्पाद सङ्घ(एपोन) र औषधी व्यवस्था विभागको संयुक्त आयोजनामा नेपालमा पहिलो फार्मा कन्क्लेभ सम्पन्न भएको छ ।
राजधानीमा आयोजित एक दिने कन्क्लेभमा नेपालमा औषधी विकासको अवस्था र सम्भावनाका विषयमा नीतिगत बहस भएको एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले जानकारी दिए ।
कार्यक्रममा बङ्गलादेश युनिभर्सिटीका फार्मेसी डिपार्टमेन्टका प्रमुख प्रोफेसर डाक्टर सतिस सी वचारले बङ्गलादेशले औषधी उद्योगको क्षेत्रमा गरेको प्रगति र त्यसबाट नेपालले सिक्न सक्ने विषयमा प्रस्तुति राखेका थिए । उनले बङ्गलादेशको आन्तरिक खपतको ९७ प्रतिशत त्यहीँका उद्योगहरूले पूर्ति गरिरहेको जानकारी दिए ।
त्यसै गरी भारतीय औषधी कम्पनीका डा. निकुञ्ज पटेलले भारतले अन्तर्राष्ट्रिय स्तरमा कसरी औषधीमा पहुँच राखेको छ भन्ने कुराको जानकारी दिए । भारतले अन्तर्राष्ट्रिय रुपमा पहुँच राख्न सक्नुको प्रमुख कारण सस्तोमा गुणस्तरीय उत्पादन रहेको उनको भनाई थियो ।
त्यसै गरी नेपालको औषधी उद्योगको अवस्था र अवसरको विषयमा एपोनको तर्फबाट पवन दाहालले प्रस्तुति दिए । उनले नेपालमा ८० वटा उद्योगले उत्पादन गरेको औषधीले ५० प्रतिशत मागलाई पुरा गरेको बताए । उनले आगामी दिनमा बाँकी रहेको ५० प्रतिशतलाई पुरा गरेर अन्तर्राष्ट्रिय मार्केटमा प्रतिस्पर्धी बनाउने चुनौती रहेको बताए ।
कन्क्लेभमा ‘नेपालको औषधी बजारको अबको बाटो’ शीर्षकमा प्यानल छलफल भएको थियो । सो विषयमा प्रा.डा. पन्ना थापा, पानबहादुर क्षेत्री, शैलेश बैद्य, प्रा.डा. सतिस सि वचार र निकुञ्ज पटेलले भाग लिएका थिए ।
त्यसै गरी औषधी सम्बन्धी ऐन र नीति सम्बन्धी छलफलमा औषधी व्यवस्था विभागको तर्फबाट सिवानी खड्गीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा भारत, बङ्गलादेश र अफ्रिकाको औषधी सम्बन्धी नियमन नीतिको पनि छलफल भएको थियो ।