काठमाडौं—सरकारले बहुप्रतिक्षित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसदमा लगेको छ । १९ असोजमा शिक्षामन्त्री अशोककुमार राईले संसदको माथिल्लो सदन राष्ट्रिसभामा उक्त विधेयक दर्ता गरेका हुन् ।
सरकारले स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र नवप्रवर्तन सम्बन्धी कार्य गर्न तथा सर्वसाधारणलाई सहज रुपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशिष्टीकृत विश्वविद्यालयका रुपमा शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय स्थापना गर्न लागेका विधेयकमा उल्लेख छ ।
प्रस्तावित गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउन लागेको हो । अंग्रेजीमा ‘मार्टियर दशरथ चन्द युनिभर्सिटी अफ हेल्थ साइन्स भनिने विधेयकमा छ । कैलालीको गेटामा विश्वविद्यालयको भौतिक पूर्वाधार समेत निर्माण भएर संचालनको पर्खाइमा छ । तर, कानुन अभावमा भौतिक संरचना निर्माण भएपनि अहिलेसम्म संचालनमा आउन सकेको छैन् ।
सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्वशासित संस्थाका रुपमा विकास गर्न खोजेको हो । विश्वविद्यालयको संगठन संरचनामा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल, शिक्षण संस्था र शिक्षण अस्पताल रहने विधेयकमा छ । विधेयकमा कुलपति, सहकुलपति, उपकुलपति, रजिष्ट्रार, डिन, प्रिन्सिपल, अस्पताल निर्देशक पदाधिकारीका रुपमा रहने उल्लेख छ ।
विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा रहेको सभा १९ सदस्सीय हुने उल्लेख छ । जसमा कुलपति अध्यक्ष, सहकुलपति, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, स्वास्थ्य विज्ञान सम्बन्धी कार्यक्रम संचालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्येबाट एक जना, शिक्षा सचिव, स्वास्थ्य सचिव, विश्वविद्यालयको केन्द्रीय कार्यलय रहेको स्थानीय तह प्रमुख, स्वास्थ्य विज्ञानको क्षेत्रमा विशेषज्ञता हासिल गरेका तीन जनालगायतका १९ जना हुनेछन् ।