२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशहिमालय आँखा अस्पतालबाट अहिलेसम्म २१ लाखले बढीले लिए सेवा, १ लाखभन्दा बढीको शल्यक्रिया

हिमालय आँखा अस्पतालबाट अहिलेसम्म २१ लाखले बढीले लिए सेवा, १ लाखभन्दा बढीको शल्यक्रिया


पोखरा—नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालबाट आम नागरिकको विश्वास बढेको देखिएको छ । अस्पतालले आँखा उपचारमा उत्कृष्ट सेवा प्रदान गरेकै कारण आम नागरिकको विश्वास बढेको अस्पतालले जनाएको छ ।

आँखा उपचारका लागि विभिन्न केन्द्रहरु स्थापना गर्ने र आँखा शिविर सञ्चालन गरी दृष्टिविहीन हुनेको संख्या घटाउने अभियानमा नेत्रज्योति संघ लागि परेको छ । हिमालय आँखा अस्पतालले सन् १९९३ देखि सन् २०२२ सम्ममा २१ लाख ६१ हजार ५ सय ५७ जनालाई ओपीडी सेवा दिएको तथ्यांक प्रस्तुत गरेको छ । सोही अवधिमा १ लाख ३ हजार ९ सय १० लाई शल्यक्रिया सेवा दिएको जनाएको छ । यो तथ्यांक अस्पतालमै सेवा लिन आउने बिरामीको हो ।

अस्पतालले आँखा शल्यक्रिया शिविर, विद्यालय आँखा जाँच कार्यक्रम र डायग्नोस्टिक, स्क्रीनिङ तथा उपचार शिविर (डिएसटी) गरी आँखा उपचारलाई दुर्गम गाउँ—गाउँसम्म पनि पु¥याएको जानकारी दिएको छ । अस्पतालले सन् २०१३ देखि २०२२ सम्ममा ३ सय ५० आँखा शल्यक्रिया शिविर सञ्चालन गरी ३१ हजार ७ सय ८२ जनाको आँखाको शल्यक्रिया गरी उपचार गरेको अस्पतालका व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिए । तीनै शिविरमा १ लाख ७० हजार ९ सय ५६ जनाले आँखा जाँच गराएको उनको भनाइ थियो ।

सोही अवधिमा १ हजार ७ सय ५१ विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरी ३ लाख ९८ हजार ७ सय २७ विद्यार्थीको आँखा जाँच गरिएको व्यवस्थापक गर्बुजा बताउँछन् । शिविारमा ११ हजार ३ सय २७ जनालाई चस्मासमेत वितरण गरेको छ । अस्पतालले सन् २०१५ देखि २२ सम्ममा डिएसटी शिविर सञ्चालन गरेको छ ।

अस्पतालमा सुरुको वर्ष सन् २०१३ मा ३७४ को शल्यक्रिया भएकोमा सन् २०२२ मा ७ हजार ६ सय ६९ को आँखाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आँखा सचेतना तथा आँखा रोगीको पहिचान भएकै कारण शल्यक्रिया हुनेको संख्या बढेको अस्पतालका व्यवस्थापक गर्बुजा बताउँछन् । सन् २०१९ मा ४२२९, सन् २०२० मा ३१६६, सन् २०२१ मा ५३९१ र सन् २०२२ मा७६६९ जनाको सर्जरी गरिएको अस्पतालको तथ्यांक छ ।

अस्पतालले सञ्चालन गर्ने शिविरमा लायन्स क्लब, रोटरी क्लब, स्थानीय तह, विभिन्न क्लब, रेडक्रसलगायतले सघाउने गरेका छन् । विद्यालय आँखा जाँच र शल्यक्रिया शिविरका लागि आइकेयर फाउन्डेसन नेदरल्यान्डबाट वार्षिक ५ शिविर सञ्चालनका लागि सहयोग प्राप्त हुने गरेको अस्पतालका व्यवस्थापक गर्बुजा बताउँछन् । वि.सं. ०७७ सालमा रोटरीले करिब ७८ लाख अमेरिकी डलर पर्ने ओसिटी एन्जिओग्राफी मेसिन हस्तान्तरण गरी उपचारमा सहयोग गरेको थियो ।

हालै जापान सरकारले अस्पताललाई ७६ लाख बराबरका सामग्री हस्तान्तरण गरेको छ । अस्पतालका व्यवस्थापक गर्बुजाका अनुसार एबी स्क्यान, अटो रिफ्रेक्टोमिटर, भिट्रेक्टोमी मेसिन, भ्याकुम अटोक्लेभ र लेमिन फ्लो मेसिन प्राप्त भएको छ । ती उपकरण शिविरमा लैजान सहज हुने उनको भनाइ छ । सामग्री ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टको अनुदानअन्तर्गत उपलब्ध भएका हुन् । अस्पतालका निर्देशक डा. इलिया श्रेष्ठ आँखा शिविरमा जाँदा गहुँगा उपकरण बोकेर जानुपर्ने समस्या हट्ने बताउँछिन् ।

स्क्रीनिङ क्याम्प सञ्चालन गर्दा आयोजकको पहुँचमा भन्दा पनि दुर्गमका बिरामीको पहुँचमा भए शिविरको सेवा प्रभावकारी हुने आँखा अस्पतालका शिविर संयोजक सुभाष नेपाल बताउँछन् । पालिकाको पहलमा हरेक पालिकामा प्राथमिक आँखा उपचारकेन्द्रको व्यवस्था गरी सहायक स्तरको आँखा सेवा दिने कर्मचारी व्यवस्था हुने हो भने दृष्टिविहीन हुनेको संख्या घटाउन सहज हुने उनको भनाइ छ ।

अस्पतालले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक र स्नातकोत्तर तहको आँखा उपचारसम्बन्धी जनशक्ति उत्पादन गर्न पठनपाठन सञ्चालन गरेको छ ।

हिमालय आँखा अस्पतालले कान उपचार सेवा छिट्टै सुरु गर्ने भएको छ । नेत्रज्योति संघको साधारण सभा उद्घाटनका क्रममा गत वैशाखमा नै नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दले कानको सेवा सुरु गर्नुपर्ने आवश्यकता भएको बताएका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ