२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुसिएमएस भैरहवामा ड्रेसकोडको विवादमा चर्कियो विद्यार्थी आन्दोलन 

युसिएमएस भैरहवामा ड्रेसकोडको विवादमा चर्कियो विद्यार्थी आन्दोलन 

दसैँमा समेत अनसन नतोडेका विद्यार्थीले दिए कडा चेतावनी 


काठमाडौं– भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा दुई सातादेखि विद्यार्थी आन्दोलनरत रहेका छन् । ड्रेस कोडको विवादले उत्पन्न भएको आन्दोलनमा अहिले विद्यार्थीले कलेजका प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामा माग गर्दै कडा रुपमा प्रस्तुत भएका छन् ।
विद्यार्थी २२ दिनदेखि आन्दोलन सुरु गरेका छन् भने रिले अनसन आज १४ औँ दिनमा पुगेको छ । तर पनि कलेजले समस्याको समाधान भने अझै गर्न सकेको छैन ।

केही समयअघि कलेजमा एमबिबिएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरिएको थियो ।

कलेजमा प्रा.डा. लक्ष्मी पाठक प्रिन्सिपलमा नियुक्ति भएसँगै उनले नयाँ ड्रेस कोड (पहेँलो रङ्गको पकेट बिनाको ड्रेस कोड) लागू गरेकी थिइन् । सो निर्णय मान्य नहुने भन्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत एक विद्यार्थी ( नाम नबताउने शर्त)ले बताए ।

विद्यार्थीलाई मानसिक यातना दिँदै नयाँ ड्रेस कोड लागू गर्न प्रा.डा पाठकले निर्देशन दिएसँगै युसीएमएसमा आन्दोलनमा उत्रिएका उनीहरूको अनशनलाई दसैँले पनि नरोकेको बताउँछन् । उनले भने ‘हामीले दसैँमा पनि २४ घण्टे रिले अनसन बस्दै आएका छौँ । माग पूरा नभएसम्म आन्दोलनको क्रम जारी रहनेछ ।’

युसीएमएसमा ड्रेसकोडको मात्रै असन्तुष्टि नभएको भन्दै शिक्षक अभाव, पुस्तकालयमा आवश्यक किताबहरू नहुनु, कलेज प्रशासन तथा व्यवस्थापनमा कमजोरी र प्रिन्सिपलद्वारा विद्यार्थीहरू मानसिक यातना  सहन बाध्य भएको आन्दोलनरत विद्यार्थीहरूको भनाई छ ।

साथै बारम्बार आफ्ना समस्या समाधान गर्ने आग्रह गर्दा पनि विद्यार्थीसँग कुरा नगरी सामाजिक सञ्जालमार्फत भ्रामक समाचार मात्र फैलाउने कार्य प्रिन्सिपल जस्तो मर्यादित पदमा रहेको व्यक्तिबाट भएपछि हामी आन्दोलनरत विद्यार्थी तथा इन्टर्नहरु प्रिन्सिपलसँगको उपस्थितिमा कुनै किसिमको वार्तामा आउन असमर्थ रहेको समेत बताएका छन् ।

 विद्यार्थीका मागहरू यस्ता छन्

  • प्रिन्सिपलले राजीनामा दिनुपर्ने,
  • नयाँ ड्रेसकोड लागू नगरी पहिलेको जस्तै यथावत् राख्नुपर्ने,
  • इन्टर्नसिप स्टाइपेन्ड अभिवृद्धि पश्चात् इन्टर्नसिप ओरिन्टेशन जोइनिङ यथाशीघ्र सुरुवात गर्नुपर्ने ।
  • मागको तुरुन्त संवोधन गरी अन्तिम वर्षका नियमित कक्षाहरू यथाशीघ्र सञ्चालन गरी कक्षा निलम्बित भएको अवधिको हाजिरी पाउनुपर्ने ।
  • रेगुलर र सप्लाई परीक्षामा प्रतिबन्ध लगाउँदा आइओएमको व्यवस्था अनुरूप हुनुपर्ने ।
  • पूरक परीक्षाभन्दा अगाडी पनि बिदा पाइने गरी लेक्चर/पोस्टिङको तालिका परिमार्जन गर्नुपर्ने लगायतका मागहरू रहेका छन्

यता कलेजले भने विद्यार्थीका सबै मागप्रति सकारात्मक रहेको बताएको छ । ‘विद्यार्थीले ड्रेस कोड, पुस्तकालय तथा अन्य व्यवस्थापनका विषयमा उठाएका मागहरुलाई कलेजले सकारात्मक रुपमा लिएको छ । तर पछिल्लो समय उनीहरूले प्रिन्सिपलकै राजीनामा मागेका छन् । यो कुरा आन्दोलन गरेर मात्रै समाधान हुन्छ भन्ने छैन ।’ युसिएमएसका सूचना अधिकारी सुशील गुरुङ भन्छन् । ‘विद्यार्थीहरूले प्रिन्सिपलको राजीनामाको मागलाई अडान लिएका छन् । अस्पताल तथा कलेजको व्यवस्थापनको हिसाबले कुनै व्यक्तिलाई विद्यार्थीहरूले राजीनामा मागे भन्दैमा त्यति सहज छैन ।’

विद्यार्थीका समस्या समाधानका लागि कलेजले विद्यार्थी र स्थानीय प्रशासनसँग समन्वय गरेको उनको भनाई छ । विद्यार्थीले अहिले प्रिन्सिपलको कार्यालय, भाइस–प्रिन्सिपलको कार्यालय, प्रमुख कार्यकारीको कार्यालय, व्यवस्थापन शाखा, इन्चार्जको कार्यालय लगायत विभिन्न ठाउँमा तालाबन्दी गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ