२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिष्ट मेडिकल कलेजमा एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण, डिस्चार्ज भए प्रत्यारोपण गरिएका बिरामी

किष्ट मेडिकल कलेजमा एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण, डिस्चार्ज भए प्रत्यारोपण गरिएका बिरामी


काठमाडौं—ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा एकसाथ कलेजो र मिर्गौलाको प्रत्यारोण गरिएको छ । २२ असोजमा चितवनकी ३३ वर्षीया महिलाको कलेजो र मिर्गौला एकसाथ सफल प्रत्यारोण गरिएको अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहले जानकारी दिए ।

‘शल्यक्रिया, पोष्ट अपरेटिभ केयर, आईसीयु केयरलगायतका निकै जटिलताहरु थिए,’ डा. सिंहले हेल्थआवाजसँग भने, ‘तर, हामीले सम्पूर्ण टिमको मेहनतमा एक साथ दुर्लभ प्रकारको ड्रूयल अर्गान ट्रान्सप्लान्ट सम्पन्न गरेका छौं ।’ उनकाअनुसार २२ असोजको विहान ११ बजे सुरु भएको शल्यक्रियामा १८ घण्टा लागेको थियो ।

सुरुमा ती बिरामीमा कलेजो प्रत्यारोपण गरिएको र लगतै मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा विभिन्न विधाका अस्पतालका १०० जनाभन्दा बढी स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको थियो ।

‘कलेजो प्रत्यारोपण गरिएलगतै बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको हो,’ अस्पतालका मेडिकल निर्देशक डा. प्रा.डा. सुरज बज्राचार्यले भने, ‘यस जटिल प्रक्रियामा अंग ग्रहणकर्ता र दुई जना अंगदताको एकै साथ अति समन्वयात्मक तवरले तीन वटा अपरेशन थिएटर प्रयोग गरी शल्यक्रिया गरिएको थियो । यसै अवधिमा बिरामीलाई हाइफेक्स डाइलाइसिस र सिआरआरटी उपचार सेवासमेत दिइएको थियो ।

बिरामीको कलेजो प्रत्यारोपण टोलीमा भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा. निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा. अरुणकुमार भेनुथुरुमिल्ली, चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिष्ट डा. सन्जीव अनेजा रहेका थिए । किष्ट अस्पतालका वरिष्ठ शल्य चिकित्सक डा. मुकुन्दराज जोशीले नेतृत्व गरेको टोलीमा कलेजो प्रत्यारोपण सर्जन डा. सिंह, लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिष्ट डा. अरुण श्रेष्ठ रहेका थिए ।

मिर्गौला प्रत्यारोपण टोलीमा डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री, डा. कश्यप दाहाललगायतका चिकित्सकहरु संलग्न रहेका थिए ।

अस्पतालकाअनुसार २९ असोजमा मिर्गौला दाता, ५ कात्तिकमा कलेजो दाता र १२ कात्तिकमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई डिस्चार्ज गरिएको हो । ती बिरामीको जन्मजात रोगका कारण मिर्गौला फेल भएको अस्पतालले आफ्नो विज्ञप्तीमा जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ