२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनियोजित रुपमा वीर अस्पताल डुबाउँदैं स्वास्थ्यमन्त्री बस्नेत

नियोजित रुपमा वीर अस्पताल डुबाउँदैं स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं—जनतालाई स्वास्थ्य सेवा निःशुल्क बनाउने भाषण गर्दै आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत निजी अस्पतालको चंगुलमा परेर नियोजित रुपमा नै देशकै ठूलो वीर अस्पतालको सेवा खुम्च्याउन तल्लीन रहेका छन् । उनले गरिब जनताको आशाको केन्द्र रहेको वीर अस्पतालबाट नियोजित रुपमा एकैपटक २ सय २१ करार चिकित्सक, नर्स र स्वास्थ्यकर्मी निकालेर त्यसको सुरुवात गरेका छन् ।

सो जनशक्ति निकालिएसँगै अस्पतालको सेवा पूर्ण रुपमा प्रभावित भएको छ । अस्पतालले दिएको जानकारी अनुसार करारका कर्मचारी हुँदा ५९ शैय्या आईसीयु संचालन रहेकोमा अहिले त्यो घटेर २४ शैय्यामा खुम्चिएको छ ।

१२ मेडिकल अफिसर र सोही संख्यामा नर्स कटौती भएपछि ४८ शैय्या संचालन भइरहेको आकस्मिक कक्ष पनि घटेर ३० मा झारिएको छ । सर्जिकल र मेडिकल वार्डमा नर्सको संख्या कम भएसँगै १ सय शैय्या घटेका छन् । नेफ्रोको ओपीडी १२ वटाबाट ८ वटामा झरेको छ ।

दैनिक १५ वटा अपरेसन थ्रिएटरबाट नियमित भइरहेको शल्यक्रिया सेवा घटेर औसतमा ९ वटामा आइपुगेको छ । हप्तामा ६ दिन नै हुने युरोलोजीको शल्यक्रिया ३ दिनमा झरेको छ । अझ दैनिक २३ वटा शल्यक्रिया हुने गरेकोमा त्यो पनि १४/१५ वटा सिमित हुन थालेको छ ।

हप्तामा १ सय ३० वटा शल्यक्रिया हुने गरेकोमा अहिले आएर ४० देखि ४५ वटामा सिमित भएको सो विभागमा काम गर्ने एक चिकित्सक बताउँछन् । त्यसैगरी, ग्यास्ट्रो सर्जरी पनि पहिलेभन्दा आधा कम भएको छ ।

वीर अस्पतालमा आईसीयु शैय्या खुम्चिएसँगै निजी अस्पतालहरु रमाउन थालेका छन् । त्यसो त २ सय २१ कर्मचारी निकालेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)तर्फ ६३ दरबन्दी थप्ने निर्णय गराएका मन्त्री बस्नेतले पछिल्लो समय चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति गर्नेभन्दा पनि आफ्ना कार्यकर्तालाई भर्ती गर्न अग्रसर भएका छन् ।

१० कात्तिकमा सार्वजनिक सूचना जारी गरेको भनेर १७ गते गुपचुप ४ जना लिफ्ट असिस्टेन्ट, १ जना प्लम्बर, २ जना इलेक्टीसियनको विज्ञापन निकालेका छन् । त्यसमा १ जना मेडिकल ल्याब टेक्निसियन र ४ जना ल्याव टेक्निसियन पनि मागिएको छ ।

गुपचुप निकालिएको विज्ञापनका लागि मन्त्रालयबाटै पहिल नै नाम पुगिसकेको न्याम्सका एक पदाधिकारी बताउँछन् । ‘मन्त्रीको सचिवालयले दिएको निर्देशनअनुसार नै भएको हो,’ ती पदाधिकारीले भने, ‘अहिले डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीको माग छ । तर, मन्त्रीज्यूका कार्यकर्ता एडजस्ट गर्नुपर्ने भएको होला ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ