२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरले भूकम्प प्रभावित क्षेत्रमा पठायो औषधि र खाद्यान्न लगायतका राहत सामग्री

काठमाडौं महानगरले भूकम्प प्रभावित क्षेत्रमा पठायो औषधि र खाद्यान्न लगायतका राहत सामग्री


काठमाडौं– जाजरकोट भूकम्पका पीडितका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सामग्री सहयोग गरेको छ । महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका २ हजार घर परिवारका लागि औषधि, खाद्यान्न  तथा सफाइ सामग्री सहयोग गरेको हो ।

महानगरले नेपाली सेनाको हेलिकोप्टरबाट ब्ल्याङ्केट पठाइएको छ भने राहतका प्याकेट स्थल मार्गबाट पठाउने तयारी गरिएको जनाएको छ । राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् ।

प्रभावित क्षेत्रमा खाद्यान्नमा ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल राखिएको छ । विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमले भने, ‘सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५०० एमएलको स्यानिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धीकरण गर्ने प्युरिफायर झोल, १० वटा भएको १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवन जल, २ फाइल सिटामोल र फोहोर राख्ने १० वटा भएको प्लास्टिकको ठूलो थैलो १ प्याकेट पठाउने तयारी गरिएको छ ।’

कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । नेपाल प्रहरीका अनुसार त्यस भूकम्पबाट ९ सय बढी भवन पूर्ण क्षति भएका छन् भने २ हजार ९ सय भवनमा आंशिक क्षति भएको छ । १५३ भन्दा धेरैको मृत्यु भएको छ । २५० भन्दा धेरै घाइते भएका छन् । उपचारपछि १५० भन्दा धेरै व्यक्ति घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ