२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ८ मंसिरमा राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ८ मंसिरमा राष्ट्रपति पौडेलले उद्घाटन गर्ने


काठमाडौं—नेपालमा पहिलो पटक इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रोडियोलोजीको आयोजना आगामी ८ र ९ मंसिर (२४—२५ नोभेम्बर) आर्मी अफिसर्स क्लब सुन्धारामा उक्त अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो ।

सम्मेलन आयोजक समितिको अध्यक्षमा प्रा. डा. रामकुमार घिमिरे छन् भने सचिवमा डा. मनिष थापा छन् । सम्मेलन आयोजक समितिका सचिव तथा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. मनिष थापाकाअनुसार भारत, जापान, दक्षिण कोरिया, बंगलादेश, श्रीलंका र नर्वेका विज्ञ चिकित्सकहरु उक्त सम्मेलनमा सहभागी हुनेछन् । ‘इन्टरभेनसनल रेडियोलोजी सम्बन्धी यो नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हो,’ डा. थापाले भने, ‘सातवटा देशका ख्यातिप्राप्त विज्ञ इन्टरभेनसनल रेडियोलोजिष्टहरु कार्यक्रममा सहभागी हुनेछन् ।’

८ मंसिर विहान राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको उद्घाटन गर्नेछन् । त्यसपछि आईएसभीआईआर रेडियोलोजी विशेष जर्नल विमोचन गरिनेछ भने अतिथीका रुपमा इण्डियन सोसाइटी अफ भास्कुल एण्ड इन्टरभेनसनल रेडियोलोजीका सचिव डा.अजित यादवले मन्तव्य दिने कार्यक्रम रहेको छ ।

त्यसपछि सम्मेलनमा अतिथी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मन्तव्य दिनेछन् भने लगतै प्रमुख अतिथी राष्ट्रपति पौडेलले मन्तव्य राख्नेछन् । कार्यक्रममा नेपाली चिकित्सक क्षेत्रका दिग्गज व्यक्तित्वहरुलाई पनि अतिथीका रुपमा आमन्त्रण गरिएको छ ।

सम्मेलन आयोजक समिति अध्यक्ष प्रा. डा. घिमिरे र सचिव डा. थापा

उद्घाटन समारोहका औपचारिक कार्यक्रम सकिएपछि वर्कसप हुनेछ । उक्त वर्कसपमा सम्मेलनमा सहभागी विभिन्न विधाका चिकित्सकहरुलाई तार र क्याथेटरको माध्यमबाट गरिने उपचार विधीबारे जानकारी गराइने सचिव डा. थापाले जानकारी दिए ।

सम्मेलनको दोस्रो दिन वैज्ञानिक अनुसन्धानका प्रस्तुतीहरुका केन्द्रीत रहनेछ । ‘सम्मेलनको दोस्रो दिन विभिन्न स्वदेशी तथा विदेशी चिकित्सकहरुले २७ वटा प्रस्तुतीकरण दिनुहुनेछ,’ उनले भने, ‘इन्टरभेनसनल रेडियोलोजीका विभिन्न विधामा गरिएको अनुसन्धानहरु प्रस्तुत हुनेछन् ।’

सम्मेलनका लागि शुक्रबारसम्म १ सय ५० जना चिकित्सकहरुले नाम दर्ता गरिसकेका छन् । आयोजकले सम्मेलनमा २ सयदेखि २ सय ५० जनासम्म चिकित्सकहरु सहभागी हुने अपेक्षा गरेको छ ।

पछिल्लो समय प्रविधीमा भएको अभूतपूर्व विकासका कारण इन्टरभेनसनल रेडियोलोजी विधा लोकप्रिय बन्दैं गएको छ । हाल नेपालमा झण्डै एक दर्जन इन्टरभेनसनल रेडियोलोजिष्टहरु छन् ।

‘पिन होल सर्जरीबाट उपचार गर्नु बिरामीका लागि उपयोगी छ । त्यसैले यस्ता सम्मेलन र कार्यक्रमहरु बढाउँदैं लैजान्छौं,’ इन्टरभेनसनल रेडियोलोजिष्ट डा. थापा भन्छन्, ‘उपकरण र तारजस्ता कुराहरु महंगोमा खरिद गर्नुपर्छ । यसमा राज्यले सहुलियत प्रदान गर्ने हो भने सर्वसाधारणले इन्टरभेनसनल रेडियोलोजी सेवा सहजै प्राप्त गर्नेछन् ।’

डा. थापाकाअनुसार यो उपचार पद्धति शल्यक्रियाभन्दा सहज र भरपर्दो रहेको छ । यो पद्धतिबाट उपचार गर्दा अस्पताल बसाइ कम हुने, शल्यक्रियामा हुने जटिलता नहुने, रिकभरी राम्रो हुने, संक्रमणको जोखिम कम हुने, सबै केसहरुमा पूर्ण रुपमा बेहोस गर्नुनपर्नेजस्ता फाइदाहरु छन्,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ