२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्रोत सुनश्चितता नभएको भन्दै अर्थले ९८ निर्माणाधीन आधारभूत अस्पतालको निकासा रोक्यो

स्रोत सुनश्चितता नभएको भन्दै अर्थले ९८ निर्माणाधीन आधारभूत अस्पतालको निकासा रोक्यो


काठमाडौं–अर्थ मन्त्रालयले निर्माणाधीन ९८ वटा अस्पतालको स्रोत सुनिश्चितता नभएको भन्दै बजेट निकासामा रोक लगाएको छ । डिपीआर तयार भएर टेण्डरको तयारीमा रहेका १६ वटा अस्पताल निर्माण प्रक्रिया पनि अलमलमा परेको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा ५, १० वा १५ शैय्याका आधारभूत अस्पताल निर्माण गर्ने भनी वि.सं. २०७७ सालमा एकैपटक ३९६ वटा र त्यसको एक वर्षपछि २ सय ५९ आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । पहिलो चरणका ३ सय ९६ अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित भएको तर पछिल्ला निर्णयका २ सय ५९ आधारभूत अस्पताल निर्माणको लागि स्रोत सुनिश्चतता भएको थिएन ।

अघिल्लो वर्ष निर्णय भएर स्रोत सुनिश्चितता भएका अस्पतालको निर्माणमा समस्या नभएतापनि पछिल्लो वर्ष निर्णय भएकामा भने समस्या देखिएको छ । पछिल्लो वर्ष निर्णय भएका २ सय ५९ अस्पतालमध्ये ९८ वटा निर्माणको चरणमा रहेका छन् । आर्थिक वर्ष २०७९/०८० सम्म स्रोत नै सुनिश्चित नभई निर्माण सुरु गर्न मन्त्रालयले कार्यादेश दिएको थियो ।

चालु आर्थिक वर्षमा भने देशमा आर्थिक संकट चुलिएसँगै ती निर्माणाधीन अस्पतालको स्रोत सुनिश्चितता नभएको भन्दै अर्थ मन्त्रालयले बजेट निकासा गरेको छैन । ‘पहिलो त्रैमासिकमा रकमान्तर हुने सम्भावना पनि हुँदैन,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘स्वास्थ्य मन्त्रालयले ३७ अर्ब बढीको स्रोत सुनिश्चितताका लागि पठाएको छ । त्यति ठूलो रकमको स्रोत सुनिश्चितता तत्काल गाह्रो छ ।’

अर्थ स्रोतकाअनुसार २ सय ५९ अस्पतालका लागि ४० अर्ब ३६ करोड ४१ लाख रुपैयाँ लागत स्वास्थ्य मन्त्रालयले पेश गरेको छ । स्रोत नै सुनिश्चित नभई अघिल्लो आर्थिक वर्षसम्म ४ अर्ब ३६ करोड ९५ लाख ६६ हजार रुपैयाँ निकासा भएर ३ अर्ब २५ करोड ४६ लाख ९७ हजार रुपैयाँ खर्च भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ