२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू

जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू

जलवायु परिवर्तनमा सबै देश गम्भीर हुनुपर्छ : स्वास्थ्यमन्त्री


काठमाडौं–नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमको संयुक्त आयोजनामा तीन दिने आईटीएम सम्मेलन सुरु भएको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको सो सम्मेलनको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा मन्तव्य राख्दैं मन्त्री बस्नेतले जलवायु परिवर्तन र सो सम्बन्धी स्वास्थ्य समस्यासँग जुध्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले जलवायु परिवर्तन एउटा देशको मात्र समस्या नभएर सबै देशहरु गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सम्मेलनले जलवायु परिवर्तनले पारेका असर र तिनले निम्तिएका समस्यालाई मिहिन ढंगले केलाउन सहज हुने बताए । ‘यो सम्मेलनमा उठेका सवाललाई सुझावका रुपमा लिएर समाधानको लागि पहल गर्न सरकार तयार छ,’ उनले भने, ‘जलवायु परिवर्तन र त्यसले निम्त्याउने समस्या र समाधानसहितको विज्ञहरुको मिहिन विश्लेषणसहित सुझावको अपेक्षा गर्दछौं ।’

एनएचआरसीका अध्यक्ष प्रा.डा. गेहराज बरालले जलवायु परिवर्तनका कारण कीटजन्य रोगहरु हिमाली भेगतर्फ बढ्दै गएको स्मरण गराउँदैं मानव स्वास्थ्यमा समस्या निम्त्याउने बताए ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञावलीले आगामी ३० नोभेम्बरमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सम्मुखमा भएको यो कार्यक्रमले सरकारका लागि विषयवस्तु तय गर्न सहज हुने बताए ।

कार्यक्रममा परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिदैं गएका स्वास्थ्य समस्याहरुको विषयमा प्रस्तुती दिएका थिए । त्यसैगरी, आईटीएमकी रुथ मुलारले आईटीएम र कार्यक्रमको समग्र विषयमा प्रस्ट पारेकी थिइन् ।

तीन दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न देशका ३ सय विज्ञहरु काठमाडौंमा भेला भएका छन् ।

कार्यक्रममा सूर्तिजन्य पदार्थको प्रयोगले वातावरणमा पर्ने असर, जलवायु परिवर्तनले क्यान्सरमा योगदान, गर्भवती महिला र शिशुमा पर्ने असरलगायतका विषयवस्तुमा कार्यपत्र प्रस्तुत हुनेछन् । साथै, विभिन्न देशहरुले लिएका नीतिका विषयमा पनि छलफल हुने सदस्य सचिव डा. ज्ञवालीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ