२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइन्टरभेनसनल रेडियोलोजी उपचार पद्धति सर्वसाधारणको पहुँच पुर्‍याउनुपर्छ : उपराष्ट्रपति

इन्टरभेनसनल रेडियोलोजी उपचार पद्धति सर्वसाधारणको पहुँच पुर्‍याउनुपर्छ : उपराष्ट्रपति


काठमाडौं—उपराष्ट्रपति रामसहाय यादवले इन्टरभेनसनल रेडियोलोजी उपचार पद्धति सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्ने बताएका छन् । शुक्रबार आर्मी अफिसर्स क्लबमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ को उद्घाटन गर्दै उनले सो उक्त कुरा बताएका हुन् ।

‘नेपालमा उपकरण उत्पादन नहुने भएकाले उपकरणहरु बाहिरबाट ल्याउनुपर्दा यो उपचार पद्धति महंगो छ,’ उपराष्ट्रपति यादवले भने, ‘उपकरणमा सरकारले सहुलियत दिएर र स्वास्थ्य विमामार्फत यो उपचार पद्धतिलाई आम सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्छ ।’ उनले राज्यले उपकरणमा सहुलियत दिएमा र स्वास्थ्य विमामार्फत सम्बोधन गर्न सकिएमा आम जनताको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य विज्ञान र उपचार पद्धतिमा नयाँ विधी र उपकरणको आविष्कार भइरहेको बताउँदैं उनले यो सम्मेलनले इन्टरभेनसनल उपचार पद्धतिको विकासमा नयाँ आयाम थप्ने बताए । उपराष्ट्रपति यादवले सम्मेलन गर्ने छलफल र अन्तक्रियाबाट नयाँ ज्ञानको ढोका खुल्ने बताए ।

कार्यक्रमका अतिथी तथा इण्डियन सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेनसनल रेडियोलोजीका सचिव डा. अजित यादवले नेपाल सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेनसनल रेडियोलोजीसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘अहिलेको आधुनिक चिकित्सा पद्धतिमा इन्टरभेनसनल रेडियोलोजी सबैभन्दा माथि छ,’ उनले भने, ‘यो नयाँ उपचार पद्धतिको विकासमा हामी एनएसभीआईआरसँग सहकार्य गर्न पाएकोमा गौरावान्वित छौं ।’

सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा.डा. रामकुमार घिमिरेले डाइग्नोसिस र उपचारमा रेडियोलोजीको विशेष महत्व रहेको बताए । नेपालमा अहिले पनि यो उपचार पद्धति बामे सर्ने अवस्थामा रहेको बताउँदैं उनले राष्ट्रिय स्वास्थ्य नीतिमा एकीकृत गरेर लैजानुपर्नेमा जोड दिए ।

सम्मेलन आयोजक समितिका सचिव डा. मनिष थापाले नेपालमा इन्टरभेनसनल रेडियोलोजी उपचार पद्धतिका लागि आवश्यक पर्ने उपकरण उत्पादन नहुने, समयमा उपलब्ध नहुने र महंगो हुनेजस्ता समस्या भएकाले यसमा सम्बन्धित क्षेत्रको ध्यान जानुपर्नेमा बताए । उनले सम्मेलनले अनुभव आदान—प्रदानका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सम्मेलन कोशेढुंगा हुने बताए ।

भारत, जापान, दक्षिण कोरिया, बंगलादेश, श्रीलंका र नर्वेसहित ७ देशका विज्ञ ख्यातिप्राप्त चिकित्सक सम्मेलनमा सहभागी रहेका छन् । त्यसबाहेक नेपालबाट झण्डै २ सय हाराहारीमा चिकित्सक, नर्सहरु सम्मेलनमा सहभागी छन् ।

शुक्रबार सम्मेलनको पहिलो दिन वर्कसप सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन शनिबार वैज्ञानिक अनुसन्धानका प्रस्तुतीहरुका केन्द्रीत रहनेछ । ‘सम्मेलनको दोस्रो दिन विभिन्न स्वदेशी तथा विदेशी चिकित्सकहरुले २७ वटा प्रस्तुतीकरण दिनुहुनेछ,’ डा. थापाले भने, ‘इन्टरभेनसनल रेडियोलोजीका विभिन्न विधामा गरिएको अनुसन्धानहरु प्रस्तुत हुनेछन् ।’

पछिल्लो समय प्रविधीमा भएको अभूतपूर्व विकासका कारण इन्टरभेनसनल रेडियोलोजी विधा लोकप्रिय बन्दैं गएको छ । हाल नेपालमा झण्डै एक दर्जन इन्टरभेनसनल रेडियोलोजिष्टहरु छन् । नेपाल सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेनसनल रेडियोलोजीको आयोजना भएको यो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ