२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट

बाहिरी भिड आएर ५० लाख रुपैयाँ क्षतिपूर्ति माग्दैं अस्पतालमा तोडफोड


बुटवल—बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । मंगलबार गुल्मीकी ३२ वर्षीया भवानी रास्कोटीको उपचार क्रममा मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा मेसु डा. राजेन्द्र बस्याललाई प्रहरी प्रशासनकै उपस्थिती रहेको बैठकमा निर्घात कुटपिट गरेका छन् ।

रास्कोटीलाई सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । त्यही दिन अस्पतालमा उनले शल्यक्रियामार्फत स्वस्थ शिशुलाई जन्म दिएकी थिइन् । तर, मंगलबार ‘पल्मोनरी इम्बोलिजम’का कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

रास्कोटीको मृत्युपछि उनका आफन्तहरु फर्किने तरखरमा थिए । त्यही क्रममा बाहिरबाट आएको एक समूहले अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दैं अवस्थालाई भड्काएको थियो ।

विवादलाई साम्य बनाउन बिरामीका आफन्तसँग मेसु डा. बस्याल, प्रहरी प्रशासनका प्रतिनिधीहरु वार्तामा बसेका थिए । त्यही बेला केही मान्छेहरु प्रवेश गरेर डा. बस्यालमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ ।

‘छलफलकै क्रममा उहाँ (डा. बस्याल)माथि हातपात भयो, उहाँ त्यही ढल्नुभयो । उहाँको टाउकोमा चोट लागेको छ,’ अस्पतालमा चिकित्सक तथा नेपाल चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलले हेल्थआवाजसँग भने, ‘अहिले उहाँको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयुमा उपचार भइरहेको छ ।’

मंगलबार घटनापछि बिरामीका आफन्तहरु फर्किने तरखर गरिरहेका बेला बाहिरबाट आएका केही मानिसहरुले अवस्थालाई उत्तेजित पारेका उनले बताए । ‘उनीहरुले ५० लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै अस्पताल तोडफोड तथा मेसुमाथि हातपात गरेका हुन्,’ उनले भने ।

घटनापछि नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले वार्तामा बसिरहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडि डा. बस्यालमाथि भएको कुटपिटको घोर निन्दा गरेको छ ।

‘यस नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालज्यूमाथि वार्तामा बसिरहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहहरुले गुण्डागर्दी र दादागिरी शैलीमा कुटपिट गरेकोमा यस चिकित्सक संघ घोर निन्दा एवं भत्र्सना गर्दछ,’ संघका अध्यक्ष डा. डिवी खत्री र महासचिव डा. पोखरेलद्वारा जारी संयुक्त विज्ञप्तीमा छ, ‘कानुनलाई हातमा लिएर मानव अधिकारको जघन्य उल्लंघन गर्दै प्रशासनकै अगाडि यस्तो अपराधिक कार्य हुनु यस समाज र देशका लागि पनि संवेदनशील कुरा हो ।’

संघले कुटपिटमा संलग्नलाई पक्राउ गरेर तत्काल कानुनअनुसार कारवाही गर्न समेत जोडदार माग गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ