२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री

त्रिवि शिक्षण अस्पतालमा स्थापना भएको पोइजन सूचना केन्द्रको उद्घाटन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा स्थापना भएको पोइजन सूचना केन्द्रको उद्घाटन समारोहमा बोल्दैं उनले धेरै मेहनतपछि दरबन्दी थप हुने कुरा टुंगो लागेको जानकारी दिए ।

उनले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्र सुधारका विभिन्न योजनासँगै स्वास्थ्यमा जनशक्ति थप गर्ने योजनालाई उच्च प्राथमिकता दिएको बताए । ‘वि.सं २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी बढेको थिएन्,’ मन्त्री बस्नेतले भने, ‘यो पटक धेरै मेहनतपछि दरबन्दी थप हुने कुराको टुंगो लागेको छ । संख्याका विषयमा छिट्टै जानकारी आउला ।’

उनले देशका ७ सय ५३ वटै पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यका साथ विगतमा एकै साथ शिलान्यास गरिएपनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका विषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको पनि उल्लेख गरे ।

विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरुमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले त्रिवि शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले सेन्टरको संचालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फर्मेसन सेन्टर’ स्थापना गरेर प्रशंसनीय काम गरेको बताए । उनले त्रिवि शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै विपन्नको उपचारलाई अझ प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

नेपालमा वर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिसतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए । त्रिबि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउँदै विष सेवनपछिको उपचारका विषयमा कुनै जानकारी लिनु परेमा ०१ ४५०२०११ मा फोन गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा अर्का चिकित्सक डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ