२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रजनन रोग विशेषज्ञ डा. अस्मितालाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड

प्रजनन रोग विशेषज्ञ डा. अस्मितालाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड


काठमाडौं—वात्सल्य आईभीएफ सेन्टरकी युवा प्रजनन रोग विशेषज्ञ डा. अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड हात पारेकी छन् । शनिबार नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा. पाण्डेले ‘आईएफएस योङ एचिभर्स’ एवार्ड हात पारेकी हुन् ।

इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त एवार्ड हात पार्ने डा. पाण्डे पहिलो नेपाली चिकित्सक हुन् । प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त एवार्ड हात पारेकी हुन् ।

‘हामीले अनुसन्धनात्मक लेखहरु लेखिरहेका हुन्छौ । मुम्बईको लीलावती अस्पताल एण्ड रिसर्च सेन्टरमा एक वर्षे फेलोसीपका क्रममा आईभीएफ सम्बन्धि अनुसन्धानात्मक लेखहरु लेखेकी थिए,’ ३४ वर्षीया चिकित्सकले भनिन्, ‘मेरो अनुसन्धान र एकेडेमिक कामहरुको सक्रियताका कारण यो एवार्ड पाएकी हुँ ।’

त्यसबाहेक उनी दुई वटा अन्तर्राष्ट्रिय जर्नलको सम्पादकीय टिममा समेत छन् । डा. पाण्डे अमेरिकन कलेज अफ अब्स्टेटेरिसियन एण्ड गाइनोकोलोजिष्टको ‘द ग्रीन जर्नल’ र युरोपियन सोसाइटी अफ ह्युमन रिप्रडक्टसन एण्ड इम्ब्रोलोजीको ‘ह्युमन रिप्रडक्सन’ जर्नल सम्पादकीय टिममा रहेर अनुसन्धानात्मक लेखहरु सम्पादनमा पनि सक्रिय छन् ।

एवार्ड हात पारेपछि आफूलाई खुसी लागेको उनले बताइन् । ‘एवार्ड पाएपछि मलाई खुसी लाग्यो, गर्वको महसुस गरे,’ उनले भनिन्, ‘मैले एवार्डको लागि अप्लाई गरेपनि पाउँछु भन्ने अपेक्षा भने राखेकी थिइन् ।’

काठमाडौंकी डा. पाण्डेले ढाका युनिभर्सिटीबाट एमबीबीएस गरेकी हुन् । उनले काठमाडौं विश्वविद्यालय (केयु)अन्तर्गतका काठमाडौं मेडिकल कलेज (केएसी)बाट स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरेकी छन् । उनले भारतको लीलावती अस्पतालबाट इनफर्टिलिटीमा एक वर्षे फेलोसीप गरेकी छन् ।

विशेषज्ञता हासिल गरेपछि केही समय नर्भिक अस्पतालमा बिरामी सेवा गरेकी उनी पछिल्लो डेढ वर्षदेखि भने वात्सल्य आईभीएफमा सेवारत छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #आईएफएस योङ एचिभर्स, #इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस), #डा. अस्मिता पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ